प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था गर्न माग
प्रवासी नेपाली तथा आफू बसोबास गरेको स्थान बाहेक अन्य जिल्लामा रहेका नेपालीलाई मतदान गर्ने स्पष्ट पहुँच उपलब्ध गराउनुपर्छ भन्ने मागसहित नेपाल जेनजी फ्रन्टले निर्वाचन आयोगमा मागपत्र बुझाएको छ।
फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, सदस्यहरू ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण र डायमण्ड शाहीसहितको टोलीले आयोगमा उपस्थित भएर मागपत्र बुझाएको हो।
मागपत्रमा सरकार कानुनी र प्राविधिक कारण देखाउँदै नागरिकलाई संवैधानिक हकबाट वञ्चित गर्न नहुने उल्लेख छ। साथै आगामी प्रतिनिधि सभा निर्वाचनदेखि नै प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था त्वरित कार्यान्वयन गर्न माग गरिएको छ।