निःशुल्क र बेनामी वाइफाइ नेटवर्क प्रयोग नगर्न आग्रह
कुवेतले विमानस्थलमा पाइने निःशुल्क र बेनामी वाइफाइ नेटवर्क प्रयोग नगर्न यात्रुहरूलाई आग्रह गरेको छ। सेप्टेम्बर महिनामा ठूलो संख्यामा नागरिक तथा प्रवासी कामदारहरू कुवेत प्रवेश गर्ने भएकाले यसबारे सचेत गराइएको हो।
साइबर सुरक्षा तथा सूचना प्रविधि विशेषज्ञहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध निःशुल्क र बेनामी वाइफाइ नेटवर्कमार्फत यात्रुको स्मार्ट उपकरण ह्याक हुने सम्भावना रहने चेतावनी दिएका छन्।
स्थानीय पत्रिका अल–सेयासाह मा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार, कुवेत जानु अघि कुनै पनि देशको विमानस्थलमा यात्रुहरूले सामना गर्नुपर्ने सबैभन्दा ठूलो जोखिममध्ये निःशुल्क र बेनामी वाइफाइ नेटवर्क पनि एक हो।
विशेषज्ञहरूले यस्ता नेटवर्कमार्फत यात्रुको व्यक्तिगत डेटा चोरी हुने र स्मार्ट उपकरणमा रहेका गोप्य जानकारीसमेत जफत हुने बताएका छन्। साथै, एकै समयमा दुई सयजना प्रयोगकर्तासम्म एउटै नेटवर्कमा जडान हुँदा जोखिम अझ बढ्ने चेतावनीसमेत दिइएको छ।
कुवेत सोसाइटी फर इन्फर्मेसन टेक्नोलोजीका इलेक्ट्रोनिक मिडिया समितिका अध्यक्ष डा. अनवर अल–हर्बीका अनुसार सामाजिक सञ्जालमार्फत पठाइने फोटो, भिडियो वा लिङ्कहरू प्राप्त गर्नु पनि निकै जोखिमपूर्ण हुने भएकाले यात्रुहरूलाई सचेत रहन सुझाव दिइएको छ।