समाचार

साउदीबाट अलपत्र ११ नेपाली श्रमिकको उद्धार


Logo
Prawash Tv
०२ असोज, २०८२
साउदीबाट अलपत्र ११ नेपाली श्रमिकको उद्धार


साउदीबाट अलपत्र ११ नेपाली श्रमिकको उद्धार

साउदी अरबको यान्बु सहरमा अलपत्र परेका ११ जना नेपाली श्रमिकमध्ये १० जना सोमबार स्वदेश फर्किएका छन् भने एक जना स्थानीय कम्पनीमा ट्रान्सफर भएर बसेका छन्।

नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्दाको पहलमा कम्पनीले उनीहरूका लागि बहिर्गमन भिसा र टिकट उपलब्ध गराएको हो। करिब पाँच महिनादेखि तलब र काम नपाएका ती श्रमिकहरूले एक महिनाअघि नेपाली सेवा समिति, यान्बुसँग सम्पर्क गरेपछि विषय सार्वजनिक भई सञ्चारमाध्यममार्फत दबाब सिर्जना भएको थियो। त्यसपछि उद्धार प्रक्रिया अघि बढेको हो।

समितिका कार्यवाहक अध्यक्ष धनबहादुर गुरुङले उद्धारमा संलग्न दूतावास, वाणिज्य दूतावास, पत्रकार तथा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। “खान नपाएर परदेशमै ज्यान जाने हो कि भन्ने अवस्था थियो। नेपाली सेवा समितिले ३७ दिनसम्म खाद्यान्न, सरसफाइ सामग्री र नगद सहयोग गरेर हामीलाई अभिभावकझैं संरक्षण गर्‍यो,” एक पीडितले भावुक हुँदै भने।

श्रमिकहरूले पाँच महिनादेखिको करिब ५९ हजार साउदी रियाल (झण्डै २२ लाख रुपैयाँ) तलब नपाएको गुनासोसमेत गरेका छन्। कम्पनीले तलब दिने आश्वासन दिएको भए पनि हालसम्म टिकट मात्र उपलब्ध गराएको उनीहरूको भनाइ छ।

यी श्रमिकहरू २०२३ सेप्टेम्बरमा अल फराज इन्टरनेसनल ओभरसिज प्रालिमार्फत साउदीको एलाइट सपोर्टिङ कम्पनी एलएलसी मा मेसन, टिब्वाई र लेबरका रूपमा गएका थिए। सुरुमा केही महिना तलब पाए पनि पछिल्ला नौ महिनादेखि आवासीय कार्ड (इकामा) नवीकरण नगरिएको, पाँच महिनादेखि तलब नदिइएको र दुई महिनादेखि बस्ने कोठामा बत्तीसमेत नबलेको कारण उनीहरूको अवस्था दयनीय बनेको थियो।

उनीहरूको पीडाबारे नेपालबाट मध्यान्ह राष्ट्रिय दैनिकसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अन्ततः उद्धार सम्भव भएको समितिका सचिव मन सिन्जालीले जानकारी दिए।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka