सैन्य विमान दुर्घटना, दुई पाइलटको मृत्यु
थाइल्यान्ड । उत्तरी थाइल्यान्ड को चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानका क्रममा बिहीबार भएको विमान दुर्घटनामा दुई जना पाइलटको मृत्यु भएको रोयल थाई एयर फोर्स (आरटीएएफ) ले जनाएको छ।
आरटीएएफका प्रवक्ता चकरित थम्माभिचाई का अनुसार विङ–४१ लाई तोकिएको एटी–६ टीएच प्रशिक्षण विमान चियाङ माई अन्तर्राष्ट्रिय विमानस्थल बाट करिब ६० किलोमिटर दक्षिणपश्चिममा पर्ने चोम थोङ जिल्लामा स्थानीय समयअनुसार बिहान १०:२० बजे दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाको समयमा पाइलटहरूले लडाइँ खोजी तथा उद्धारसम्बन्धी प्रशिक्षण अभ्यास गरिरहेका थिए। दुर्घटनास्थल वरपर कुनै पनि नागरिक घाइते नभएको र सम्पत्तिमा क्षति नपुगेको आरटीएएफले जनाएको छ।
अधिकारीहरूले उड्डयन सुरक्षासम्बन्धी मापदण्डको कडाइका साथ पालन गर्दै दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गर्ने बताएका छन्। वायुसेनाले मृतक पाइलटका परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।