पाकिस्तानमा शिया मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तान को राजधानी इस्लामावाद मा रहेको एक शिया मुस्लिम मस्जिदमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्।
घटनापछि प्रहरी तथा उद्धारकर्मीहरू तत्काल घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यमा जुटेका छन्। शक्तिशाली विस्फोटपछि इस्लामावादका अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ र घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
इस्लामावाद प्रहरी प्रमुखले सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै पूरै शहरमा आपतकाल घोषणा गरिएको जानकारी दिएका छन्। विस्फोटमा घाइते भएका धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।
हालसम्म उक्त आक्रमणको जिम्मेवारी कुनै पनि समूह वा व्यक्तिले लिएको छैन भने घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।