मलेसियाको एक हत्या प्रकरणमा तीन नेपाली पक्राउ
मलेसियामा आमा–छोरी हत्या प्रकरणमा तीन नेपाली पुरुष पक्राउ परेका छन्। सरकारी सञ्चारमाध्यम बर्नामाका अनुसार, मलेसियाको कम्पुङ सेकोलाह जुरुस्थित घरमा ५१ वर्षीय सारिया चे हिन र उनकी ११ वर्षीया छोरी नुर अफरिना अलिशा अब्दुल रहिमको हत्या भएको थियो।
पक्राउ परेकाहरूलाई अदालतको अनुमति लिएर सात दिनका लागि हिरासतमा राखिएको छ। पेनाङ प्रहरी प्रमुख दातुक अजिजी इस्माइलका अनुसार, उनीहरूलाई मलेसियाको दण्डसंहिताको धारा ३०२ (हत्या) अन्तर्गत अनुसन्धान भइरहेको छ। यसैगरी, हत्या आरोपमा संलग्न एक नेपाली नेपाल भाग्ने प्रयास गर्दा अध्यागमन कार्यालयमा हिरासतमा राखिएको थियो भने अन्य दुई संदिग्धहरूलाई बुकित तेंगाहको एक निवासबाट पक्राउ गरिएको थियो।
प्रहरीले अनुसन्धान सहयोगका लागि पीडितका ५७ वर्षीय पति सहित तीन जना अन्य संदिग्धहरूलाई पनि नियन्त्रणमा लिएको छ। मलेसियाको धारा ३०२ अनुसार, दोषी ठहर भए मृत्युदण्ड वा ३०–४० वर्ष कैदको सजाय हुनेछ। मृत्युदण्ड नदिइएमा ५० वर्षमुनिका पुरुषलाई कम्तीमा १२ वर्ष कैद हुने व्यवस्था छ।