कोरियामा जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
सोल, दक्षिण कोरिया – कोरियामा रहेका नेपाली युवाहरूले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन्।
कोरियाबाट सन्दीप तिवारीले प्रवाश टिभीलाई दिएको जानकारीअनुसार डोङडेमुन प्लाजा (DDP) मा आयोजित उक्त कार्यक्रम करिब ३ घण्टा लामो रह्यो। कार्यक्रममा कोरियामा सक्रिय २०० भन्दा बढी नेपाली युवाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई स्मरण गर्दै न्याय, पारदर्शिता र जवाफदेही शासनका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा भएको दमनको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे।

कोरियामा लामो समयदेखि कार्यरत नेपाली युवा सन्दीप लामिछानेले प्रवाश टिभीसँग भने– “हामी टाढा छौँ तर हाम्रो मन नेपालमै छ। विदेशमा रहे पनि मातृभूमिको पीडामा हाम्रो ऐक्यबद्धता सदैव रहिरहन्छ।”
यद्यपि, सहभागीहरूले आन्दोलनको दोस्रो दिन सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीको विरोध गर्दै संयमता अपनाएर ‘नयाँ नेपाल निर्माण अभियान’ मा लाग्न सबैलाई आह्वान गरे।
