इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी
काठमाडौँ । डोनाल्ड ट्रम्प ले इरान सँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन्। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई ले अमेरिकाले युद्ध सुरु गरे त्यसले सम्पूर्ण क्षेत्रीय युद्धको रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको प्रतिक्रिया आएको हो।
फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले मध्यपूर्व क्षेत्रमा शक्तिशाली सैन्य साधन तैनाथ गरिए पनि अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान नै भएको स्पष्ट पारे। सम्झौता नभए खामेनेईको चेतावनी सही थियो वा थिएन भन्ने कुरा चाँडै स्पष्ट हुने उनको भनाइ थियो।
“हाम्रा विश्वकै सबैभन्दा शक्तिशाली जहाजहरू त्यहाँ नजिकै छन्। केही दिनभित्रै सम्झौता हुन्छ भन्ने आशा छ। यदि सम्झौता भएन भने, उनले भनेको कुरा सही थियो कि थिएन, त्यो हामीले थाहा पाउनेछौँ,” ट्रम्पले भने।
यसअघि खामेनेईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई सैन्य कारबाही नगर्न चेतावनी दिएका थिए। अमेरिकाले युद्ध सुरु गरे त्यसले सीमित रूप नलिई सम्पूर्ण क्षेत्र नै युद्धमा फस्ने उनको भनाइ थियो। इरानमाथि आक्रमण भए निर्णायक जवाफ दिने चेतावनी पनि उनले दिएका छन्।
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी ले अमेरिका–इरान वार्ताको संरचनात्मक तयारी अघि बढिरहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले सञ्चारमाध्यममा फैलिएका हल्लाभन्दा फरक रूपमा वार्तासम्बन्धी काम भइरहेको उल्लेख गरेका छन्।
अमेरिकाले हाल यूएसएस अब्राहम लिंकन को नेतृत्वमा ठूलो नौसैनिक समूह इरान नजिक तैनाथ गरेको छ। तनाव चर्किए पनि अमेरिका र इरान दुवै पक्षले कूटनीतिक समाधानको सम्भावनालाई पूर्ण रूपमा नकारेका छैनन्।