समाचार

युएईले गर्‍यो वर्किङ भिसामा पनि कडाइ


Logo
Prawash Tv
०२ असोज, २०८२
युएईले गर्‍यो वर्किङ भिसामा पनि कडाइ

वैदेशिक रोजगार व्यवसायीहरूले युएई सरकारले नेपाली कामदार (वर्किङ) भिसामा समेत कडाइ गर्न थालेको बताएका छन्। युएईले यसअघि सोमबारदेखि नेपाली नागरिकका लागि भिजिट भिसा बन्द गरिसकेको थियो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल वैभवका अनुसार वर्किङ भिसाका लागि पेस भएका निवेदनहरूमा भिसा रद्द हुने दर बढेको देखिएको छ। तर, युएईले नेपाली कामदारको भिसा रोकिएकोबारे कुनै औपचारिक जानकारी भने दिएको छैन। अबुधाबीस्थित नेपाली राजदूतावासले पनि यसबारेमा जानकारी प्राप्त नभएको जनाएको छ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा १३ हजार कैदीसहित ठूलो संख्यामा थुनुवा भागेपछि ती व्यक्तिहरू युएई प्रवेश गर्न सक्ने आशंकामा अस्थायी रूपमा भिजिट भिसा रोकेको अनुमान गरिएको छ।

संघका निवर्तमान द्वितीय उपाध्यक्ष सञ्जु गुरुङका अनुसार युएईले कामदार भिसाका लागि आवेदकको चालचलन र पृष्ठभूमि प्रमाणित गर्न प्रहरी प्रतिवेदन माग्न सक्छ तर वर्किङ भिसा नै बन्द गर्ने स्थिति भने छैन। हाल पाकिस्तानी र बंगलादेशी कामदारको हकमा पनि यस्तै प्रक्रिया लागू गरिएको छ।

युएईले नेपालीलाई भिजिट भिसा नदिने निर्णय आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। तर, ट्राभल एजेन्सीहरूलाई आन्तरिक सर्कुलरमार्फत नेपाली नागरिकको भिजिट भिसा आवेदन लिन रोक्न भनिएको जानकारी आएको छ।

हाल युएईमा चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। मासिक करिब १२ हजार नयाँ कामदार युएई जाने गरेका छन्। नेपाल युएईको प्रमुख श्रमिक आपूर्ति गर्ने मुलुकमध्ये एक हो।

नेपाल र युएईबीच हाल घरेलु महिला श्रमिक पठाउने विषयमा प्रोटोकल बनाएर छलफल भइरहेको अवस्थामा वर्किङ भिसामा पूर्ण रोक लगाइने सम्भावना कम रहेको व्यवसायीहरूको भनाइ छ। तर, यदि युएईले वर्किङ भिसामा कडाइ गरे कतारले पनि त्यसलाई अनुशरण गर्ने र अन्ततः सम्पूर्ण खाडी मुलुकमा असर पर्ने जोखिम रहेको उनीहरू बताउँछन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka