समाचार

नवीकरण ढिलाइले सयौं भिसा गुम्दै


Logo
Prawash Tv
२७ भदौ, २०८२
नवीकरण ढिलाइले सयौं भिसा गुम्दै


नवीकरण ढिलाइले सयौं भिसा गुम्ने अवस्था : वैदेशिक रोजगार व्यवसायी तनावमा

वर्षौंको मेहनत र लाखौंको लगानीमा सञ्चालन गरेको कम्पनीको कारोबार करिब दुई हप्तादेखि बन्द हुँदा वार्षिक सय जना कामदार पठाउन नसकेका वैदेशिक रोजगार व्यवसायी तनाव र बेचैनीमा छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले वार्षिकरूपमा सय जना कामदारको श्रम स्वीकृति नपाएका म्यानपावर कम्पनीको लाइसेन्स नवीकरणका लागि पहल जारी रहेको बताए। तर व्यवसायीहरू भने आश्वस्त छैनन्। कतिपय व्यवसायीहरू ताहाचलस्थित वैदेशिक रोजगार विभागको संस्था शाखा पुगेर दैनिक रूपमा ढोका र झ्यालबाट सोधखोज गर्न, कार्यालयभित्र गएर निर्देशकसँग कारोबार खुला गरिदिन आग्रह गर्न र समस्या समाधानको माग गर्दै आएका छन्।

कसै-कसैले भने आफूहरूले इमानदारपूर्वक पेशा व्यवसाय सञ्चालन गरिरहे पनि सरकार र केही ठूला व्यवसायीले सिर्जना गरेको षड्यन्त्रको शिकार भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

हाल, वार्षिक संख्या सय पुग्न नसक्ने वर्गका व्यवसायीहरूले फ्रि भिसा, फ्रि टिकटको निर्णय लिनुअघि नै निःशुल्क कामदार पठाउन थालेका छन्। केही व्यवसायीले ‘इम्प्लोइ पे मोडल’मार्फत रोजगारदाताले राहदानी, मेडिकल र हवाई टिकट खर्च व्यहोर्नुपर्ने कामदार पठाउन थालेका र सफल भएका छन्। तर वार्षिक संख्या नपुगेकाले लाइसेन्स नवीकरण हुन नसक्दा उनीहरू खिन्न देखिन्छन्।

विभागमा भेटिएका एक व्यवसायीले भने, “सरकारको नीतिअनुसार ‘इम्प्लोइ पे मोडल’मा कामदार पठायौं। यसले विपन्न कामदारलाई ठुलो राहत पुर्‍यायो। तर समस्या आएपछि ढाडस दिने वा सहयोग गर्ने कोही भएन।”

अर्का व्यवसायीले भने, “सय नपुगेपनि म्यानपावर नवीकरण हुने आश्वासनमा काम गरियो। अहिले २०–३० वटा भिसा मात्र आएको छ, बाँकी रोकिएको छ। दर्जनौं व्यवसायीका सयौं भिसा खेर जाने अवस्थामा छन्।”

विभागका निर्देशक टिकाराम ढकालका अनुसार कतिपय व्यवसायीले नचाहेर लाइसेन्स नवीकरण नभएको जस्तो प्रस्तुत गर्दा दिनभर अन्य काम छोडेर व्यवसायीलाई जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको छ। ढकालले बताए, “संघीय संसद्ले वैदेशिक रोजगार ऐनमा वार्षिक सय जना कामदारको श्रम स्वीकृति लिनुपर्ने व्यवस्था खारेज गर्ने विधेयक पारित गरिसकेको छ। तर राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले ३२६ भन्दा बढी म्यानपावर कम्पनीको कारोबार रोकिएको छ। ऐन पारित भएको अवस्थामा पनि नियमावली संशोधन नभएकाले तत्काल नवीकरण हुने अवस्था छैन।”

निर्देशक ढकालले भने, विगत वर्षझैं मन्त्रिपरिषदबाट बाधा–अड्काउ फुकाउ आदेश जारी भए नवीकरण छिटो हुने अपेक्षा रहेको बताए। संघ अध्यक्ष गुरुङले पनि समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सचिव र विभागका महानिर्देशकसँग छलफल भएको र सकारात्मक वातावरण बनेको जानकारी दिए।

त्यस्तै, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले यस समस्या अत्यन्तै संवेदनशील रूपमा लिएको र व्यवसायीहरूले केही समय धैर्य राख्नुपर्ने बताएको छ। प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले भने अन्तरिम राहत उपलब्ध गराउन श्रम मन्त्रीसँग माग गरेको छ।

सबै पक्षबाट पहल भए पनि विभाग र व्यवसायीबीच चाहेजस्तो समयमा परिणाम नआउँदा तनाव बढेको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka