समाचार

नेपाली महावाणिज्यदूतावास दुबईद्वारा राहदानी डेलिभरी सेवा सुरु


Logo
Prawash Tv
१० असोज, २०८३
नेपाली महावाणिज्यदूतावास दुबईद्वारा राहदानी डेलिभरी सेवा सुरु

दुबई, युएई : संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानी श्रमिकको कार्यस्थलमा पुर्‍याउने व्यवस्था सुरु गरेको छ । यसले राहदानीका लागि पटकपटक नेपाली दूतावास धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने बताएको छ । नेपालबाट तयार भएर आएको राहदानी लिनका लागि मात्र नेपाली दूतावास वा महावाणिज्यदूतावास जान समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधमा नयाँ व्यवस्था गरिएको महावाणिज्यदूतावासको भनाइ छ ।

युएईबाट सामान्य राहदानी बनाउन २ सय, ३४ पेजको राहदानी बनाउन ३ सय र ६६ पेजको राहदानी बनाउन ६ सय दिराम दस्तुर लाग्ने व्यवस्था छ । आफू बसेको स्थानमा राहदानी प्राप्त गर्न चाहनेले राहदानी आवेदनका क्रममा बायोमेट्रिक दिएपछि युएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टको दस्तुर र भ्याटसहित १५.७५ दिराम जम्मा गर्नुपर्नेछ ।

नयाँ राहदानी बनेपछि युएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टमार्फत डेलिभरी गरिने महावाणिज्यदूतावासले जनाएको छ । यो सेवा स्वेच्छिक रहेको भन्दै महावाणिज्यदूतावासले आवश्यक पर्ने सेवाग्राहीले मात्र उपयोग गर्न सक्ने जनाएको छ ।

युएई पछिल्ला महिनामा नेपाली श्रमिकको प्रमुख आकर्षक गन्तव्यमा रहेको छ । युएईमा ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेका छन् । राहदानीको म्याद सकिएर नवीकरणका लागि फारम भरेका तर पटकपटक दूतावास धाउन समय नपाउनेहरूका लागि हुलाक डेलिभरी सेवाले धेरैलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली दूतावास वा महावाणिज्यदूतावास नभएका मुलुकमा काम गर्ने नेपालीहरूले राहदानी नवीकरणका लागि विभिन्न समस्या भोग्दै आएका छन् । केही समयअघि अस्ट्रियाको भियनास्थित नेपाली दूतावासले नवीकरण भएका नेपालीका राहदानी क्रोएसिया नपठाउँदा नेपाली कामदार समस्यामा परेका थिए । मध्यान्ह दैनिकले पटकपटक ध्यानाकर्षण गराएपछि मात्रै भियनास्थित नेपाली दूतावासले नवीकरण भएका राहदानी पठाउने व्यवस्था गरेको थियो ।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka