इरानबाट सेना फिर्ता गर्ने ट्रम्पको संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प : ‘अमेरिकी सेना छिट्टै इरानबाट फर्किन्छ’
१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव अन्त्यतर्फ अमेरिका अघि बढिरहेको संकेत दिएका छन्। ओभल अफिसमार्फत सम्बोधन गर्दै उनले अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र इरानबाट फिर्ता हुने प्रक्रिया सुरु हुने बताएका हुन्।
ट्रम्पका अनुसार, इरानमा अमेरिकाले आफ्नो ‘लक्ष्य पूरा गरिसकेको’ र युद्धलाई अनावश्यक रूपमा लम्ब्याउनु नपर्ने अवस्था आएको छ। उनले युद्ध अन्त्यअघि कुनै सम्भावित सम्झौता वा राजनीतिक डिल पनि हुन सक्ने संकेत दिए।
इरानको प्रतिक्रिया
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यका लागि तेहरान तयार रहेको बताएका छन्। उनका अनुसार, यदि इरानमाथि फेरि द्वन्द्व नचर्किने स्पष्ट ग्यारेन्टी भए, इरान शान्ति प्रक्रियामा जान इच्छुक छ।
इजरायलको फरक धारणा
तर इजरायल भने युद्धबिरामतर्फ लचिलो देखिएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हालसम्म संघर्ष अन्त्यका लागि कुनै समयसीमा तोकेका छैनन्। उनले इरानसँगको युद्ध कहिले टुंगिने भन्ने विषयमा “निश्चित डेडलाइन दिन नसकिने” बताएका थिए।
पृष्ठभूमि : खामेनेईको मृत्युपछि तनाव चर्कियो
फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमा संयुक्त रूपमा गरेको आक्रमणमा सर्वोच्च नेता अली खामेनीसहित उच्च अधिकारीहरूको मृत्यु भएपछि मध्यपूर्वमा तनाव तीव्र भएको हो।
खामेनेईको निधनपछि उनका छोरा मोज्तबा खामेनी लाई नयाँ सर्वोच्च नेता बनाइएको खबर बाहिरिएको छ तर उनी हाल कहाँ छन् भन्नेबारे आधिकारिक जानकारी प्राप्त भएको छैन।
खाडी क्षेत्रको सुरक्षा संकट
आक्रमणपछि इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डा तथा ऊर्जा पूर्वाधारमाथि बदला स्वरूप आक्रमण जारी राखेको छ। यसले खाडी मुलुकहरूमा असुरक्षा बढ्नुका साथै विश्वव्यापी इन्धन आपूर्तिमा असर परेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
ट्रम्पले भने इरानले अमेरिकी कम्पनी वा हितमाथि थप आक्रमण गर्ने सम्भावनालाई “गम्भीर रूपमा लिनुपर्ने अवस्था छैन” भन्दै इरानले त्यस्तो कदम नचाल्ने विश्वास व्यक्त गरेका छन्।