थप ५ मुलुकसँग श्रम सम्झौताको तयारी
थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौताको तयारी, न्यूनतम मापदण्ड तयार गर्ने निर्णय
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको न्यूनतम मापदण्ड तयार गरी थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय गरेको छ।
श्रममन्त्री दीपककुमार साह को उपस्थितिमा आइतबार मन्त्रालयमा बसेको बैठकमा मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीहरूमा छलफल भएको थियो। बैठकपछि थप ५ मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने निर्णय भएको हो, तर सम्झौता गरिने मुलुकहरू हाल सार्वजनिक गरिएको छैन।
मुख्य निर्णयहरू
वैदेशिक रोजगारी सुधार
नेपाली कामदारको सुरक्षा सुनिश्चित गर्ने, न्यूनतम ज्याला, कार्यस्थल सुरक्षा, कार्य वातावरण र स्वास्थ्य सुरक्षा अध्ययन गर्ने।
अध्ययनका आधारमा वैदेशिक रोजगारीको न्यूनतम मापदण्ड तयार गर्ने।
रोजगारी सिर्जनामा सहयोग पुर्याउने गरी सीप विकास तालिम प्रदान गर्ने र रोजगारमा आबद्ध हुने अवसर सिर्जना गर्ने।
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाउने।
प्रविधिमा आधारित सुधार
श्रम स्वीकृति तत्काल प्रदान हुने व्यवस्था लागू गर्ने।
पूर्व प्रस्थान अभिमुखीकरण तालिमको श्रव्य–दृश्य सामग्री डिजिटल माध्यममा उपलब्ध गराउने, तालिम पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाउने।
आन्तरिक श्रम सुधार
न्यूनतम ज्यालाको कार्यान्वयन सुनिश्चित गर्ने।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गर्ने अभियान सञ्चालन गर्ने।
श्रमाधान कल सेन्टरलाई व्यवस्थित र प्रभावकारी बनाउने।
औद्योगिक प्रतिष्ठानहरूमा जोखिम मूल्यांकन गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षा प्रवर्धन गर्ने।
उत्पादन र उद्यमशीलता प्रवर्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्ने।
प्रदेशस्तरमा निजी क्षेत्रसँग सहकार्य गरी सीप मेला सञ्चालन गर्ने।
मन्त्रालयले वैदेशिक र आन्तरिक श्रम क्षेत्रमा सुधारका यी निर्णय कार्यान्वयनमा ल्याएर कामदारको सुरक्षा, रोजगारीको पहुँच र सेवा प्रभावकारिता बढाउने लक्ष्य राखेको जनाएको छ।