सामाजिक सेवा र परोपकारी पत्रकारितामा योगदान पुर्याएको भन्दै सन्तोष खड्का सम्मानित
सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी सन्तोष खड्का सामाजिक सेवा र परोपकारी पत्रकारितामा पुर्याएको योगदानका लागि सम्मानित भएका छन्।
पूर्वी नेपाल समाज दक्षिण कोरियाले समुदाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै परोपकारी पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै खड्कालाई सम्मान गरेको हो।
दक्षिण कोरियामा डेढ दशकभन्दा लामो समयदेखि रहँदै आएका खड्का पत्रकारितासँगै सामाजिक सेवामा पनि सक्रिय छन्। उनी सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् र दक्षिण कोरियामा विभिन्न सामाजिक संघसंस्थामार्फत समुदायका गतिविधिमा सहभागी हुँदै आएका छन्।
सम्मान ग्रहण गर्दै खड्काले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आगामी दिनमा सामाजिक सेवा र परोपकारी पत्रकारितालाई अझ निरन्तरता दिन थप प्रेरणा र जिम्मेवारीका रूपमा लिएको बताए।
उनले आफ्नो सामाजिक सक्रियता, सेवाभाव र परोपकारी पत्रकारिताको यात्रा निरन्तर अघि बढिरहने उल्लेख गरे। पत्रकारिता तथा सामाजिक नेतृत्वका क्रममा आफूले कुनै व्यक्तिगत अपेक्षा नराखेको भन्दै उनले समुदाय र समाजप्रतिको जिम्मेवारीलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
खड्काले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताका रूपमा परोपकारी पत्रकारितालाई थप प्रभावकारी बनाउँदै अघि बढाउने बताए।
सम्मानका लागि आभार व्यक्त गर्दै उनले पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदारप्रसाद निरौलासहित संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई धन्यवाद दिए।
खड्का दक्षिण कोरियामा रहेका एक दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा सल्लाहकार तथा विभिन्न भूमिकामा सक्रिय छन्।
पूर्वी नेपाल समाज दक्षिण कोरिया दक्षिण कोरियामा सामाजिक क्षेत्रमा सक्रिय संस्थाका रूपमा परिचित छ। संस्थाले समुदाय तथा सामाजिक सेवाका विभिन्न क्षेत्रमा निरन्तर गतिविधि सञ्चालन गर्दै आएको छ।