समाचार

साउदीमा ५०० कामदार अलपत्र


Logo
Prawash Tv
२९ वैशाख, २०८२
साउदीमा ५०० कामदार अलपत्र

  • काठमाडौं : सांसदहरूले साउदी अरेबियामा कम्पनी टाट पल्टिँदा नेपाली कामदार अलपत्र परेको भन्दै तत्काल उद्धारका लागि सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गरेका हुन् ।

    बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले साउदी अरेबियाको जुबेलमा ४६९ नेपाली काम र तलबविहीन बन्धकजस्तो अवस्थामा राखिएको भन्दै उनीहरूको तत्काल उद्धारका लागि सरकारसँग माग गरे । सांसद शाहीले विदेशी भूमिमा बन्धक सरह बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्कालै पहल गर्नुपर्ने बताए ।

    वैदेशिक रोजगारीमा जाने नेपालीहरू निरन्तर ठगीमा परिरहेको भन्दै सांसद शाहीले विदेशी मुलुकमा समस्यामा रहेका नेपालीको समयमा नै उद्धार गर्नु सरकारको कर्तव्य भएको उल्लेख गरे ।

    साउदी अरेबियाको पूर्वी क्षेत्र जुबेलमा रहेको सेन्दान इन्टरनेशनल कम्पनी लिमिटेडमा विगत ८ महिनादेखि ४६९ जना नेपाली कामविहीन भएको भएपनि समाचार भने आइतबार मात्रै सार्वजनिक भएको थियो ।

    रियादस्थित नेपाली दूतावासले कम्पनी टाट पल्टिएपछि नेपाली श्रमिक कामविहीन भएको बताएको छ । अलपत्र नेपालीहरूलाई स्वदेश फर्काउन साउदी सरकारले दिने बहिर्गमन भिसा (एक्जिट पर्मिट) नहुँदा अलपत्र नेपालीलाई स्वदेश फर्काउन समस्या देखिएको भन्दै नेपाली दूतावासमा कार्यरत काउन्सिलर श्रम कविराज उप्रेतीले स्वदेश फिर्ताको पहल भइरहेको बताएका छन् ।

    कम्पनीमा रहेका नेपाली श्रमिकले आफूहरूलाई जतिसक्दो छिटो उद्धार गरी नेपाल पठाउन नेपाल सरकार तथा साउदी सरकारसँग अपिल गरेका छन् । आफूहरूलाई खान बस्नको तुलनामा औषधिका लागि समस्या भएको उनीहरूको भनाइ छ ।

    गत वर्ष डिसेम्बर २४ देखि कम्पनी पूर्णरूपमा बन्द भएको भन्दै काउन्सिलर श्रम उप्रेतीले स्वदेश पठाउने टुंगोमा पुर्‍याउन अझै कम्तीमा १ महिनाको समय लाग्न सक्ने बताएका छन्  । २ देखि १६ वर्षसम्म काम गरेका नेपाली कामदार रहेको उक्त कम्पनीमा नेपालका विभिन्न म्यानपावर कम्पनीले कामदार पठाएको बताइएको छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka