समाचार

डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीमा ढुक्क भएर लगानी गर्न एनआरएन अगुवाको आग्रह


Logo
Prawash Tv
०९ असोज, २०८३
डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीमा ढुक्क भएर लगानी गर्न एनआरएन अगुवाको आग्रह

लण्डन। डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालको पुनर्निर्माण, भौतिक पूर्वाधार तथा विकास निर्माणमा सामूहिक लगानी गर्न गैरआवासीय नेपाली (एनआरएन) अगुवाहरूले विश्वभर रहेका प्रवासी नेपालीलाई आग्रह गरेका छन्।

डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीले अमेरिका, युरोप र अफ्रिकामा रहेका नेपालीहरूसँग नेपालको पुनर्निर्माण तथा विकासमा प्रवासी नेपालीको भूमिकासम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

शुक्रबार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेले यसअघि गैरआवासीय नेपालीहरूको सामूहिक लगानीमा स्थापना गरिएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको उदाहरण प्रस्तुत गर्दै नयाँ कम्पनीमा पनि लगानी गर्न आग्रह गरे।

लामिछानेका अनुसार सन् २०१३ मा उनको नेतृत्वमा स्थापना भएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीमा करिब ९ सय लगानीकर्ता सहभागी भएका थिए। उक्त कम्पनीको अनुभव डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी स्थापनाको आधार बनेको उनले बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले नेपालमा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सरकारी बजेट मात्र पर्याप्त नहुने भन्दै विदेशमा रहेका नेपालीहरूको पुँजीलाई व्यवस्थित रूपमा नेपाल भित्र्याउनुपर्नेमा जोड दिए।

उनले विपद्को समयमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनासँगै दीर्घकालीन पुनर्निर्माण र पुनर्संरचनामा पनि ध्यान दिनुपर्ने बताए।

श्रेष्ठका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीमा लगानी गरेका व्यक्तिहरूले राम्रो प्रतिफल पाएको र त्यसपछि धेरै लगानीकर्ताबाट पुनः यस्तै प्रकृतिको सामूहिक लगानी कम्पनी स्थापना गर्न आग्रह आएको थियो।

कार्यक्रममा डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीका निर्देशक रोविन शेरचनले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई कम्पनीमार्फत नेपालमा लगानी गर्न आह्वान गरे।

अन्तरक्रियामा कम्पनीको उद्देश्य, अवधारणा तथा प्रस्तावित लगानी योजनाबारे जानकारी गराइएको थियो। साथै, नेपालको पुनर्निर्माण, भौतिक पूर्वाधार तथा समग्र विकास निर्माणमा प्रवासी नेपालीको पुँजी परिचालन र कम्पनीले निर्वाह गर्न सक्ने भूमिकाबारे छलफल भएको थियो।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka