झन्डै डेढ करोड ठगीमा चलचित्र निर्मातासहित ६ जना पक्राउ
काठमाडौं — वैदेशिक रोजगारीका नाममा ठूलो रकम उठाएर फरार भइरहेका आधा दर्जनभन्दा बढी व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले बिभिन्न देश पठाइदिने भन्दै झन्डै १ करोड ३५ लाख रुपैयाँ भन्दा बढी रकम उठाएर ठगी गरेको खुलेको छ। थप अभियुक्तको खोजी र अनुसन्धान जारी छ।
पक्राउ परेकामध्ये चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की मुख्य आरोपी मानिएका छन्। उनले चाबहिल–स्थित पी एण्ड एम इनोभेसन सर्भिस चलाउँदै करिब २५० जनालाई विदेश लैजाने वाचा गरेर ठगी गरेको अनुसन्धानले देखाएको छ। एक सयभन्दा बढी पीडितले कार्कीविरुद्ध जाहेरी दिएका छन्।
भारतको नयाँ दिल्लीमा लुकेर बसेका उनलाई पक्राउ गर्दा भारतीय आधार र प्यान कार्ड पनि भेटिएको छ। सो कार्ड प्रयोग गरी उनी त्यहाँ फास्टफुड व्यवसाय गरिरहेको प्रहरीले जनाएको छ।
कार्कीमाथि बैंकिङ कसुरको मुद्दासहित वैदेशिक रोजगारसम्बन्धी ६ वटा पक्राउ पुर्जी जारी भएका छन्। उनलाई वैदेशिक रोजगार विभाग, ताहचलमा बुझाइएको छ।
यस्तै, वैदेशिक रोजगार ठगीमा संलग्न आरोपमा सरस्वती भण्डारी (नुवाकोट), धनीराम बुढा (रुकुम), काशिराम दर्जी (गुल्मी), र विकल पौडेल (कास्की) पनि पक्राउ परेका छन्।
उनीहरूले अमेरिका, क्यानडा, रोमानिया र क्रोएसिया पठाइदिने भन्दै १ लाखदेखि १८ लाखसम्म ठगी गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, दोलखा वैतेश्वर–३ की राधिका बस्नेत पनि ठगी मुद्दामा पक्राउ परेकी छन्। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा २ मुद्दा दर्ता छ भने ८० लाखभन्दा बढी बिगो दाबी गरिएको छ। उनमाथि बैंकिङ कसुरका ७ मुद्दा पनि रहेको प्रहरीले जनाएको छ। बस्नेतलाई थप प्रक्रिया अघि बढाउन प्रहरी परिसर भद्रकालीमा पठाइएको छ।