श्रम मन्त्रालय चलाएका दुईले मात्र जिते चुनाव
काठमाडौं : हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम, रोजगार तथा वैदेशिक रोजगार क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने अधिकांश उम्मेदवारले अपेक्षित सफलता प्राप्त गर्न सकेनन्। केही सीमित उम्मेदवार मात्र विजयी हुँदा धेरैजसो उम्मेदवार पराजित भएका छन्।
पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा जित हासिल गरेका हुन्। त्यस्तै पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
तर वैदेशिक रोजगार तथा श्रम क्षेत्रसँग जोडिएका अन्य धेरै नेताहरूले भने यसपटकको निर्वाचनमा पराजय व्यहोर्नुपरेको छ। १८ पटकभन्दा बढी मन्त्री भइसकेका पूर्वश्रममन्त्री शरतसिंह भण्डारी महोत्तरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपककुमार साहसँग पराजित भएका छन्।
त्यसैगरी पूर्वश्रममन्त्री तथा नेकपा एमालेका सचिव गोकर्णराज विष्ट गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीसँग हार व्यहोर्नुपरेको छ।
वैदेशिक रोजगार व्यवसाय क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू पनि निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष लालप्रसाद साँवा लिम्बू झापा–४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालसँग पराजित भएका छन्।
त्यस्तै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा सल्लाहकार तिलकबहादुर रानाभाट पनि निर्वाचनमा पराजित भएका छन्। कास्की–१ मा नेपाली कांग्रेसका उम्मेदवार बनेका रानाभाट राष्ट्रिय स्वतन्त्र पार्टीका खड्कराज पौडेलसँग पराजित भएका हुन्। उक्त क्षेत्रमा पौडेलले ३९ हजार ८८३ मत प्राप्त गर्दा रानाभाटले ११ हजार २१४ मत प्राप्त गरेका छन्।
यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष किरणकिशोर घिमिरे पनि दाङ–२ मा पराजित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यसँग पराजित भएका हुन्। आचार्यले ४३ हजार ५५९ मत प्राप्त गर्दा घिमिरे ११ हजार ५५८ मतसहित तेस्रो स्थानमा सीमित भए।
त्यसैगरी नेकपाको तर्फबाट इलाम–१ मा उम्मेदवार बनेका रनबहादुर राई पनि समाचार तयार पार्दासम्म मतगणनामा पाँचौँ स्थानमा रहेका छन्।
यसपटकको निर्वाचन परिणामले श्रम तथा वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित धेरै उम्मेदवारले अपेक्षित समर्थन प्राप्त गर्न नसकेको देखाएको छ।