युएई जाने नेपालीको राहदानीमा ‘रोजगारी निषेध’ टिप्पणी प्रकरण : अध्यागमनद्वारा छानबिन सुरु
संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली यात्रुको राहदानीमा नियमविपरीत हस्तलिखित रूपमा ‘Employment is strictly prohibited ’ अर्थात् ‘रोजगारी पूर्ण रूपमा निषेधित’ भन्ने पासपोर्टमा लेखिएको घटनालाई अध्यागमन विभागले छानबिन सुरु गरेको छ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यात्रुको राहदानीमा प्रस्थान छापसँगै यस्तो टिप्पणी गरिएको तस्बिर सार्वजनिक भएपछि विभागले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संलग्न कर्मचारीमाथि आन्तरिक अनुसन्धान अघि बढाएको हो।
विभागका प्रवक्ता टिकाराम ढकालद्वारा जारी विज्ञप्तिमा कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई अतिरिक्त शर्त तोकेर प्रस्थान अनुमति दिने नीति वा निर्णय नभएको स्पष्ट पारिएको छ। विभागले प्रचलित कानुन र नीतिविपरीत हुने यस्ता गतिविधि गैरकानुनी भएको उल्लेख गर्दै जिम्मेवार कर्मचारीमाथि आवश्यक कारबाही गरिने जनाएको छ।
विज्ञप्तिमा पछिल्लो समय नेपाली नागरिकको वैदेशिक यात्रालाई सहज, सरल र व्यवस्थित बनाउन सरकारले भिजिट भिसासम्बन्धी व्यवस्था थप स्पष्ट बनाएको उल्लेख छ। सरकारको निर्णयअनुसार भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकसँग कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य देशको भिसा र दुवैतर्फी हवाई टिकट भएमा स्वघोषणाका आधारमा सहज रूपमा प्रस्थान अनुमति दिइने व्यवस्था रहेको विभागले जनाएको छ।
अध्यागमन विभागले नागरिकको बाध्यता दुरुपयोग गरी हुने ठगी तथा शोषण नियन्त्रण गर्न नीतिगत सुधार र प्रणाली आधुनिकीकरणमा जोड दिइरहेको पनि बताएको छ। यस्तो अवस्थामा कुनै कर्मचारीले व्यक्तिगत निर्णयका आधारमा राहदानीमा अनावश्यक टिप्पणी गर्नु गम्भीर त्रुटि भएको विभागको भनाइ छ।
यो घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि विभागले तत्काल छानबिन प्रक्रिया अघि बढाएको हो। विभागले यात्रुहरूको आवागमनलाई सुरक्षित, मर्यादित र झन्झटरहित बनाउन आफू प्रतिबद्ध रहेको जनाएको छ।