इजरायल केयरगिभरका लागि उत्तीर्ण भएका नेपाली कहिले जान पाउँछन्?
इजरायल सरकारले हाल छनोट प्रक्रियामा रहेका नेपाली केयरगिभरहरूको सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि मात्रै नयाँ श्रमिक भर्ना प्रक्रिया अघि बढाउने भएको छ। त्यसैले नयाँ आवेदन र अर्को भाषा परीक्षाको प्रक्रिया तत्काल सुरु नहुने संकेत देखिएको छ।
बुधबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायलका राजदूत एरी बासबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा इजरायल जान छनोट भएका नेपाली श्रमिकहरूको वर्तमान अवस्था, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षा, कागजात प्रक्रिया तथा आगामी भर्ना योजनाबारे विस्तृत छलफल भएको थियो।
श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यसअघि प्रारम्भिक सूचीमा परेका करिब २ हजार ३ सय जना उम्मेदवारमध्ये हाल करिब १ हजार २ सय जनाको स्क्रिनिङ तथा अन्तिम प्रक्रिया अगाडि बढिरहेको छ। स्वास्थ्य परीक्षण, कागजात प्रमाणीकरण, रोजगारदातासँगको म्याचिङ र प्रस्थान प्रक्रिया पूरा भएपछि मात्रै बाँकी उम्मेदवार तथा नयाँ आवेदकका लागि अर्को चरणको प्रक्रिया अघि बढाइनेछ।
मन्त्रालयका अनुसार अघिल्लो लटरीमा नपरेका तथा भविष्यमा इजरायल केयरगिभरका रूपमा जान चाहने नेपालीका लागि अर्को अंग्रेजी भाषा परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ। तर हालसम्म कुनै आधिकारिक मिति भने सार्वजनिक गरिएको छैन।
भेटका क्रममा इजरायलका राजदूत एरी बासले पनि अहिले प्राथमिकता अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेर छनोट भएका नेपाली श्रमिकलाई सकेसम्म छिटो इजरायल पठाउने रहेको बताएका छन्। उनले हालको प्रक्रिया सम्पन्न भएपछि मात्रै नयाँ आवेदन र नयाँ छनोट प्रक्रिया सुरु हुने स्पष्ट पारेका छन्।
इजरायलमा नेपाली केयरगिभरहरूले मुख्य रूपमा वृद्धवृद्धा, अशक्त तथा विशेष हेरचाह आवश्यक भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन सहयोग गर्ने काम गर्छन्। उनीहरूले बिरामीलाई उठबस गराउने, खाना खुवाउने, औषधि सेवनमा सहयोग गर्ने, व्यक्तिगत सरसफाइमा सहयोग गर्ने, सामान्य घरायसी सरसफाइ गर्ने तथा आवश्यक परे अस्पताल लैजान सहयोग गर्ने जिम्मेवारीसमेत निर्वाह गर्नुपर्छ।
इजरायलमा केयरगिभरका रूपमा काम गर्ने श्रमिकहरूले सरकारी श्रम सम्झौताअनुसार आधारभूत तलब प्राप्त गर्छन्। यसबाहेक ओभरटाइम, साप्ताहिक बिदा, सार्वजनिक बिदा, सामाजिक सुरक्षा लगायतका सुविधा पनि रोजगार सम्झौताअनुसार उपलब्ध हुन सक्छन्। अतिरिक्त काम गर्ने श्रमिकको मासिक आम्दानी अझ बढी हुन सक्छ।
भविष्यमा इजरायल जान चाहने नेपालीहरूले अहिले नै अंग्रेजी भाषाको तयारी सुरु गर्नु उपयुक्त हुने विज्ञहरूको सुझाव छ। विशेषगरी B1 स्तरको अंग्रेजी परीक्षा पास गर्न दैनिक Speaking, Listening, Reading र Writing अभ्यास गर्नुका साथै Grammar, Caregiver सम्बन्धी शब्दावली तथा अघिल्ला प्रश्नहरूको नियमित अभ्यास गर्नुपर्ने बताइन्छ।
हालसम्मको अवस्थालाई हेर्दा नयाँ कोटा वा नयाँ आवेदन प्रक्रिया तत्काल खुल्ने सम्भावना कम देखिएको छ। त्यसैले इजरायल जान इच्छुक उम्मेदवारहरूले आधिकारिक सूचना नआएसम्म भाषा तयारी, आवश्यक कागजात व्यवस्थापन र सीप विकासमा ध्यान दिनु उपयुक्त हुने देखिन्छ।