समाचार

निर्माणाधीन रङ्गशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन


Logo
Prawash Tv
२९ चैत, २०८२
निर्माणाधीन रङ्गशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन

२९ चैत, सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले रङ्गशाला निर्माणको काम समयमै टुंग्याएर दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न जोड दिएका हुन्। रङ्गशालाका लागि आवश्यक बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले अब कुनै पनि कारण देखाएर काम ढिला गर्न नहुने स्पष्ट पारे।

मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई बाँकी काम छिटो सम्पन्न गरी हस्तान्तरणको वातावरण बनाउन सक्रिय हुन आग्रह गरे। “अब काम रोक्ने अवस्था छैन, सबै पक्ष मिलेर यथाशीघ्र निर्माण सम्पन्न गर्नुपर्छ,” उनले भने।

उनले निर्माण कार्यलाई कार्यतालिका अनुसार अघि बढाउन र बाँकी काम निश्चित समयसीमाभित्र पूरा गर्न निर्देशन दिएका छन्। साथै, प्रभावकारी अनुगमन र समन्वयको आवश्यकता औंल्याउँदै सम्बन्धित निकायलाई जिम्मेवारीप्रति गम्भीर हुन चेतावनी दिएका छन्।

रङ्गशाला सम्पन्न भएपछि कर्णालीमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास उनले व्यक्त गरे। खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि योजना आवश्यक रहेको उल्लेख गर्दै उनले खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षण, पूर्वाधार निर्माण तथा प्रतियोगिताको निरन्तर आयोजनामा ध्यान दिनुपर्ने बताए।

दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै आवश्यक पूर्वाधार, खेलमैदान, आवास र व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्न उनले निर्देशन दिएका छन्। साथै, कर्णालीका विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणका लागि स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेश गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

हाल बजेट तयारीको चरणमा रहेको उल्लेख गर्दै उनले खेलकुदसम्बन्धी योजनाहरूलाई प्राथमिकताका साथ समावेश गर्न र चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएका छन्। उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्नेमा उनले विशेष ध्यानाकर्षण गराएका छन्।

मुख्यमन्त्री कँडेलले कुनै पनि कार्यक्रम परिषद्को स्वीकृतिपछि मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पार्दै कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय यस वर्ष र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने बताए।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka