मध्यपूर्व तनाव : रोजगारी, अर्थतन्त्र र ऊर्जामा संकटको जोखिम
काठमाडौं : मध्यपूर्वी देशहरूमा पछिल्लो समय बढ्दै गएको तनावले नेपालको अर्थतन्त्र, ऊर्जा आपूर्ति र विप्रेषणमा असर पर्न सक्ने सम्भावना व्यक्त गरिएको छ। खाडी मुलुकहरू नेपालका लागि रेमिट्यान्सको प्रमुख स्रोत र इन्धन आपूर्तिसँग पनि जोडिएका भएकाले क्षेत्रीय द्वन्द्वले नेपाललाई प्रत्यक्ष प्रभाव पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘पश्चिम एसियाको समस्या र नेपाली अर्थतन्त्रमा देखिने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थतन्त्र र आप्रवासन क्षेत्रका विज्ञहरूले सरकारले समयमै पूर्वतयारी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार अमेरिका–इजरायल र इरानबीचको बढ्दो तनावले विश्वव्यापी ऊर्जा बजारमा दबाब बढिरहेको छ, जसको असर नेपालजस्ता आयातित इन्धनमा निर्भर र रेमिट्यान्समा आधारित अर्थतन्त्र भएका देशहरूमा बढी पर्न सक्छ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टले पश्चिम एसियामा देखिएको परिस्थितिले नेपालमा ऊर्जा तथा खाद्य सुरक्षामा चुनौती थपिन सक्ने बताए। उनले पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात राख्ने र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए।
उनका अनुसार नेपाल पेट्रोलियम पदार्थ आयातका लागि पूर्ण रूपमा भारतमा निर्भर रहेको अवस्थामा यदि भारतमै आपूर्ति प्रभावित भयो भने त्यसको प्रभाव नेपाली बजारमा स्वतः देखिनेछ। त्यसैले सम्भावित संकटलाई ध्यानमा राख्दै दीर्घकालीन योजना बनाउन आवश्यक रहेको उनले उल्लेख गरे।
श्रम आप्रवासन क्षेत्रका जानकार रामेश्वर नेपालले पनि मध्यपूर्वी क्षेत्रमा तनाव बढ्दै जाँदा नेपाली श्रमिकको रोजगारी, सुरक्षा र विप्रेषणमा असर पर्न सक्ने बताए। उनका अनुसार हाल खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरू तनावपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् र सरकारले उनीहरूलाई थप आश्वस्त पार्ने कदम चाल्नुपर्ने आवश्यकता छ।
उनले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका श्रमिकहरूको सुरक्षाबारे सरकारको तयारी स्पष्ट हुनुपर्ने बताउँदै आवश्यकता परे उद्धारको योजना पनि तयार राख्नुपर्ने धारणा व्यक्त गरे।
हाल मध्यपूर्व तथा खाडीका विभिन्न देशहरूमा झण्डै २० लाख नेपाली श्रमिक कार्यरत छन्। निर्माण, सुरक्षा, सेवा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत रहेको बताइन्छ।
नेपालबाट दैनिक रूपमा करिब १ हजार ५०० भन्दा बढी युवा रोजगारीका लागि खाडी मुलुकतर्फ जाने गरेका छन्। तर क्षेत्रीय तनाव बढ्दै गएमा नेपाली युवाका लागि रोजगारीका अवसर घट्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
सेजनका अध्यक्ष भागवत भट्टराईले मध्यपूर्वी क्षेत्रमा रहेका नेपाली कामदार र नेपालको अर्थतन्त्रमा पर्ने सम्भावित प्रभावबारे सरोकारवालाबीच छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए। उनले सरकारले समयमै तयारी नगरेमा आर्थिक तथा सामाजिक क्षेत्रमा असर पर्न सक्ने भएकाले यस विषयमा गम्भीर ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।