आजदेखि काठमाडौं–दुबई रुटमा उडान
काठमाडौं : मध्यपूर्व क्षेत्रमा विकसित तनावका कारण प्रभावित भएको नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा पुनः उडान सञ्चालन गर्ने भएको छ। इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि उत्पन्न सुरक्षा अवस्थाका कारण निगमले फेब्रुअरी २८ यता उक्त रुटमा नियमित उडान गर्न सकेको थिएन। निगमका अनुसार बुधबारदेखि दुबईतर्फको उडान पुनः सञ्चालन गरिनेछ। फेब्रुअरी २८ देखि मार्च ९ सम्मका लागि टिकट लिएर पनि यात्रा गर्न नपाएका यात्रुलाई प्राथमिकताका साथ उक्त उडानमार्फत गन्तव्यतर्फ पठाइने तयारी गरिएको छ। यसैबीच दुबईका लागि सेवा सञ्चालन गर्ने अन्य वायुसेवा कम्पनीहरू फ्लाई दुबई र हिमालय एयरलाइन्सले पनि क्रमशः आफ्नो नियमित उडान सेवा पुनः सुरु गर्ने भएका छन्। तर कतारको विमानस्थल क्षेत्रमा भएको आक्रमणका कारण कतार एयरवेजले भने मंगलबारसम्म नेपालतर्फको नियमित उडान सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकेको छैन। कतार एयरवेजले नेपालबाहेक अन्य विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा भने उडान क्रमशः पुनः सुरु गरेको जनाएको छ। कम्पनीका अनुसार काइरो, लन्डन हिथ्रो, जेद्दा, मनिला, मस्कट, इस्तानबुल, मुम्बई, दिल्ली, नैरोबी, इस्लामाबाद, म्याड्रिड, फ्रांकफर्ट, कोलम्बो, मिलान, मस्को, टोरन्टो, डलास–फोर्ट वर्थ, पेरिस, रोम, हङकङ, सियोल, बैंकक, क्वालालम्पुर र मेलबर्न लगायतका गन्तव्यमा उडान पुनः सञ्चालन गरिएको छ। मध्यपूर्वको पछिल्लो अवस्थासँगै अन्तर्राष्ट्रिय उडानहरू क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।