समाचार

उद्धारका नाममा हुने गतिविधि रोक्न विभागको निर्देशन


Logo
Prawash Tv
१७ चैत, २०८२
उद्धारका नाममा हुने गतिविधि रोक्न विभागको निर्देशन

वैदेशिक रोजगार विभागले श्रम गन्तव्य मुलुकमा समस्यामा परेका नेपाली कामदारको उद्धारका नाममा सञ्चालन भइरहेका गैरकानुनी गतिविधि तुरुन्त बन्द गर्न निर्देशन दिएको छ।

विभागको राहत तथा उद्धार शाखाले जारी गरेको सूचनामा केही संघ–संस्था र व्यक्तिहरूले कानुनविपरीत रूपमा उद्धारको नाममा गतिविधि सञ्चालन गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। वैदेशिक रोजगार ऐन, २०६४ अनुसार यस्तो उद्धार कार्य गर्ने अधिकार गैरसरकारी संस्थाहरूलाई नभएको स्पष्ट गरिएको छ।

ऐनको दफा ७५ अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक युद्ध, महामारी वा अन्य संकटमा परेमा उनीहरूको उद्धार गर्ने जिम्मेवारी नेपाल सरकार तथा सम्बन्धित देशमा रहेका नेपाली दूतावास वा कूटनीतिक नियोगको हुने व्यवस्था छ। तर केही संस्था वा व्यक्तिहरूले श्रमिक तथा तिनका परिवारलाई प्रभावमा पारेर उद्धारको भ्रम फैलाउने काम गरिरहेको विभागले जनाएको छ, जसलाई गैरकानुनी गतिविधि भनिएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीका अनुसार केही संस्थाहरूले उद्धारको नाममा आर्थिक स्वार्थ पूरा गर्ने र नियमित रूपमा काम गरिरहेका कामदारलाई समेत गन्तव्य मुलुकबाट फर्कन उक्साउने प्रवृत्ति देखिएको छ, जसले थप समस्या सिर्जना गरिरहेको छ।

विभागले अनुमति बिना वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि सेवा वा उद्धार कार्य गर्नु कानुन उल्लंघन हुने चेतावनी दिएको छ। समस्यामा परेका श्रमिकहरूले सहायता आवश्यक परेमा सीधै वैदेशिक रोजगार विभाग, त्यसको आधिकारिक इमेल वा ह्वाट्सएप, अथवा सम्बन्धित देशको नेपाली दूतावासमा सम्पर्क गर्नुपर्ने बताइएको छ।

अवैध रूपमा गरिने उद्धारका प्रयासले श्रमिकलाई झन् जोखिममा पार्ने र कानुनी जटिलता निम्त्याउन सक्ने भन्दै विभागले यस्तो कार्यमा संलग्न हुने संस्था वा व्यक्तिविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka