खाडीबाट तत्कालै उद्धारको बाध्यता छैन : परराष्ट्र मन्त्रालय
काठमाडौं : परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था नभएको बताएका छन्।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले क्षेत्रीय तनाव क्रमशः कम हुँदै गएको संकेत देखिएको बताए। उनका अनुसार केही नेपाली नागरिक हवाई ट्रान्जिटमा रहे पनि अधिकांश नेपाली सुरक्षित रहेको जानकारी प्राप्त भएकाले तत्काल ठूलो स्तरमा उद्धार अभियान सञ्चालन गर्नुपर्ने अवस्था नदेखिएको हो।
खाडी क्षेत्रका विभिन्न मुलुकमा करिब १९ लाखभन्दा बढी नेपाली नागरिक रोजगारीमा रहेका छन्। तीमध्ये करिब ४५ हजार नेपालीले स्वदेश फर्किने इच्छा व्यक्त गर्दै सम्बन्धित नेपाली दूतावासहरूमा आफ्नो विवरण दर्ता गराएका छन्। यद्यपि हालसम्मको अवस्थाअनुसार उनीहरूलाई तत्काल स्वदेश ल्याउनुपर्ने आपतकालीन स्थिति नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अनलाइन फारममार्फत आफू असुरक्षित भएको महसुस गर्दै जानकारी गराउने नेपालीको संख्या करिब पाँच हजार पुगेको छ। यद्यपि हालसम्मको समग्र सुरक्षा अवस्थाको विश्लेषण गर्दा नेपाली नागरिकको जीवनमा प्रत्यक्ष जोखिम देखिएको छैन।
पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राईले पनि परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जानकारी दिए। उनले हालको अवस्था हेर्दा नेपाली नागरिकलाई तत्काल उद्धार गरेर स्वदेश ल्याइहाल्नुपर्ने स्थिति नदेखिएको बताए। उनले नेपाली समुदायलाई अनावश्यक रूपमा चिन्तित वा विचलित नहुन आग्रह गर्दै परिस्थितिमा थप समस्या आएमा सरकारले आवश्यक कदम चाल्न सक्ने स्पष्ट पारे।
उनका अनुसार अन्य दक्षिण एसियाली मुलुकहरू जस्तै बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले पनि हालसम्म आफ्ना नागरिकलाई व्यापक रूपमा उद्धार गर्ने निर्णय गरेका छैनन्। तर यदि सुरक्षा अवस्था थप बिग्रियो भने नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल सरकार सक्षम रहेको पनि उनले बताएका छन्।
यसैबीच इरानबाट गरिएको मिसाइल तथा ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका १५ जना नेपाली सामान्य रूपमा घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार घाइतेमध्ये १४ जना उपचारपछि पुनः काममा फर्किसकेका छन् भने एक जनाको उपचार जारी रहेको छ र उनको अवस्था सामान्य रहेको बताइएको छ।
यसअघि यूएईमा भएको आक्रमणमा परी गोरखाका विवेक श्रेष्ठको मृत्यु भएको थियो।
हाल इरानले खाडी तथा पश्चिम एसियाका केही देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख गरिएको छ।
युद्ध सुरु भएपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै फागुन १६ गतेदेखि केही अन्तर्राष्ट्रिय उडानहरू स्थगित गरिएका थिए। तर अहिले स्थिति केही सहज बन्दै जाँदा आंशिक रूपमा हवाई सेवा पुनः सञ्चालनमा आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार एयर अरेबिया, फ्लाइ दुबई र हिमालय एयरलाइन्सले पछिल्ला चार दिनदेखि दुबईतर्फ आंशिक रूपमा उडान सञ्चालन गरिरहेका छन्।