समाचार

श्रम स्वीकृति नवीकरण रोकिँदा छुट्टीमा आएकाहरू समस्यामा


Logo
Prawash Tv
०१ चैत, २०८२
श्रम स्वीकृति नवीकरण रोकिँदा छुट्टीमा आएकाहरू समस्यामा

काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले रोक लगाएको श्रम स्वीकृति प्रक्रिया दुई हप्ता पुग्दा पनि खुल्न सकेको छैन। यसका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका तथा बिदा मनाउन स्वदेश आएका नेपाली कामदारहरू अन्योलमा परेका छन्।

इरानमा अमेरिकी आक्रमण सुरु भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा वैदेशिक रोजगार विभागले फागुन १७ गतेदेखि व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको थियो। विभागले मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था सामान्य नभएसम्म नयाँ कामदार पठाउन उचित नहुने निष्कर्ष निकालेको जनाएको छ।

सरकारले क्षेत्रीय परिस्थिति स्थिर भएपछि मात्र कामदार पठाउने नीति लिएको देखिन्छ। श्रम स्वीकृति पाइसकेका केही कामदार विमानस्थलमै अलपत्र परेको र गन्तव्य मुलुकबाट उद्धारको अवस्था पनि स्पष्ट नभएको भन्दै विभागले सावधानी अपनाएको बताएको छ।

तर खाडी क्षेत्रमा कार्यरत नेपालीहरूले भने नयाँ कामदार पठाउने प्रक्रिया रोक्नु केही हदसम्म उचित भए पनि बिदामा घर आएका कामदारको पुनः श्रम स्वीकृति रोक्नु उचित नभएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार निर्धारित समयमै काममा फर्किन नपाएमा कम्पनीसँगको सम्झौता र सेवा–सुविधामा समस्या आउन सक्छ।

साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका मध्यपूर्वी तथा खाडी मुलुकहरूमा अहिले पनि दैनिक जनजीवन सामान्य रूपमा सञ्चालन भइरहेको बताइन्छ। सुपरमार्केट, बजार तथा सेवा क्षेत्रका धेरै कामहरू नियमित रूपमा चलिरहेका छन्, जहाँ ठूलो संख्यामा आप्रवासी श्रमिकहरू काम गरिरहेका छन्।

खाडी क्षेत्रमा रहेका नेपालीहरूका अनुसार नेपाली कामदार जान नपाएमा रोजगारदाताहरूले अन्य देशबाट कामदार भित्र्याउन सक्ने सम्भावना पनि बढ्छ। यसले नेपाली कामदारको रोजगारीमा दीर्घकालीन असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

विशेषगरी बिदामा घर आएका धेरै कामदार निश्चित समयभित्र काममा फर्किने सम्झौता गरेर नेपाल आएका हुन्छन्। निर्धारित समयमा काममा नफर्किएमा कम्पनीबाट पाउने तलब, सुविधा वा अन्य अवसर गुम्न सक्ने भएकाले उनीहरू चिन्तित बनेका छन्।

विगतमा कोरोना महामारीको समयमा पनि धेरै नेपाली कामदार हतारहतार स्वदेश फर्किएका थिए। त्यसबेला धेरै कामदारको तलब तथा सेवा–सुविधा सम्बन्धी रकम कम्पनीमै रोकिएको थियो। केही कम्पनीले रकम फिर्ता गरे पनि धेरैले नदिएको घटना अन्तर्राष्ट्रिय रूपमा ‘ज्याला चोरी’को उदाहरणका रूपमा चर्चा भएको थियो।

हाल वैदेशिक रोजगार विभागले अर्को सूचना जारी नभएसम्म श्रम स्वीकृति प्रक्रिया स्थगित रहने जनाएको छ। तर दुई हप्ता बितिसक्दा पनि परिस्थितिमा के परिवर्तन भयो वा बिदामा रहेका कामदारहरूको कानुनी अवस्था के हुन्छ भन्नेबारे स्पष्ट जानकारी नआएकाले विदेश फर्किन प्रतीक्षा गरिरहेका कामदारहरू अन्योलमा परेका छन्।

उनीहरूले आफ्नो समस्या श्रम मन्त्रालयका उच्च अधिकारीहरूसम्म पुर्‍याए पनि हालसम्म ठोस जवाफ नपाएको बताएका छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka