मागपत्र प्रमाणीकरण स्थगित
काठमाडौं : मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण खाडी मुलुकमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूले वैदेशिक रोजगारीका लागि आउने मागपत्र प्रमाणीकरण प्रक्रिया अस्थायी रूपमा स्थगन गरेका छन्। इजरायल–अमेरिका र इरानबीच देखिएको द्वन्द्वको सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बैठकले हालका लागि मागपत्र प्रमाणीकरण नगर्न सम्बन्धित दूतावासहरूलाई निर्देशन दिएको हो। सुरक्षा अवस्था सामान्य नहुँदासम्म नयाँ कामदार पठाउने प्रक्रियामा सावधानी अपनाउनुपर्ने निष्कर्ष निकालिएको जनाइएको छ।
यसैबीच कतार र संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासहरूले पनि सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि कामदारका मागपत्र प्रमाणीकरण कार्य रोकिएको बताएका छन्। यस निर्णयले खाडी क्षेत्रतर्फ नयाँ श्रमिक पठाउने प्रक्रिया अस्थायी रूपमा प्रभावित हुने देखिएको छ।
यसअघि नै अमेरिका र इरानबीच बढ्दो तनावका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै वैदेशिक रोजगार विभागले केही दिनअघि मध्यपूर्वका विभिन्न देशहरूमा श्रम स्वीकृति दिने प्रक्रिया पनि रोकेको थियो। विभागले साउदी अरेबिया, यूएई, कुवेत, कतार, बहराइन, ओमान, इराक, यमन, लेबनान, टर्की, जोर्डन र इजरायल लगायतका देशका लागि व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको जानकारी दिएको थियो।
सरकारले क्षेत्रीय सुरक्षा अवस्था नजिकबाट निगरानी गरिरहेको र परिस्थिति सामान्य भएपछि आवश्यक निर्णय पुनः गरिने जनाएको छ।