समाचार

साउदी हुँदै नेपाल जान सकिने सूचनापछि कतारस्थित नेपाली दूतावास आलोचनामा


Logo
Prawash Tv
०२ चैत, २०८२
साउदी हुँदै नेपाल जान सकिने सूचनापछि कतारस्थित नेपाली दूतावास आलोचनामा

कतारबाट नेपाल फर्किन चाहने नेपालीलाई साउदी अरब हुँदै यात्रा गर्न सकिने विकल्पबारे नेपाली दूतावासले सूचना जारी गरेपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। दूतावासले शनिबार सूचना सार्वजनिक गर्दै साउदी भिसा लिएर नेपाल जान सकिने जानकारी दिएको थियो। तर सूचनामा उल्लेख गरिएको फोन नम्बरमा सम्पर्क हुन नसक्नु र दूतावासका सामाजिक सञ्जाल प्लेटफर्म सक्रिय नदेखिएपछि धेरै श्रमिक तथा सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्।

यस विषयमा उठेका जिज्ञासाबारे स्पष्ट पार्न दूतावासका कार्यवाहक राजदूत कुमार राईले हाल कतार–नेपाल सिधा उडान नियमित नभएकाले वैकल्पिक रूपमा साउदी अरब हुँदै यात्रा गर्न सकिने जानकारी दिनु परेको बताए। कतिपय नेपालीले साउदी भिसा प्रक्रियामा ढिलाइ हुने गुनासो गरेपछि दूतावासले त्यहाँको दूतावाससँग सहजीकरणका लागि आग्रह गरेको पनि उनले बताए।

उनका अनुसार कतारस्थित साउदी दूतावाससँग समन्वय गरेर तासिर भिसा सेन्टरमार्फत भिसा आवेदन दिन सकिने जानकारी दिइएको हो। तर सूचनामा उल्लेख गरिएको फोन नम्बरमा सम्पर्क नहुने विषयमा भने दूतावासले वेबसाइटबाट नम्बर लिएको र त्यसबारे आफूहरूलाई पनि स्पष्ट जानकारी नभएको उनले स्वीकार गरे।

दूतावासले साउदी हुँदै नेपाल जाने विकल्पबारे मात्र जानकारी दिएको र भिसा शुल्क, यात्रा खर्च तथा अन्य खर्च सम्बन्धित यात्रुले नै बेहोर्नुपर्ने पनि स्पष्ट पारेको छ। यस्तो मार्ग प्रयोग गर्दा खर्च बढ्न सक्ने विषयलाई पनि दूतावासले स्वीकार गरेको छ।

यस्तै, विशेष परिस्थितिका कारण कतार एयरवेजले मार्च १६ र १७ मा नेपालका लागि विशेष उडान सञ्चालन गर्ने तयारी भएको पनि दूतावासले जनाएको छ। हालसम्म विभिन्न कारणले समस्यामा परेका केही नेपालीलाई दूतावासले समन्वय गरेर स्वदेश पठाइसकेको जानकारी पनि दिइएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka