समाचार

आक्रमण र प्रत्याक्रमण जारी रहँदा आवागमन दुवै प्रभावित


Logo
Prawash Tv
२८ फागुन, २०८२
आक्रमण र प्रत्याक्रमण जारी रहँदा आवागमन दुवै प्रभावित

काठमाडौं : इरानमा अमेरिका र इजरायलबीच जारी आक्रमण र प्रत्याक्रमणका कारण वैदेशिक रोजगारीमा जाने तथा फर्किन खोजिरहेका नेपाली कामदारहरू समस्यामा परेका छन्। क्षेत्रीय तनावका कारण उडानहरू प्रभावित हुँदा विदेश जाने र स्वदेश फर्किने दुवै प्रक्रियामा अवरोध देखिएको हो।

नेपाल सरकारले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै केही खाडी तथा पश्चिम एसियाली मुलुकतर्फको श्रम स्वीकृति अस्थायी रूपमा रोकेपछि विदेश जान तयारी गरेका धेरै नेपाली कामदार स्वदेशमै अन्योलमा परेका छन्। यसैबीच गन्तव्य मुलुकबाट नेपाल फर्किन चाहने नेपालीहरू पनि अन्तर्राष्ट्रिय उडानहरू रद्द हुँदा समस्यामा परिरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पछिल्ला दिनहरूमा दैनिक करिब डेढ दर्जन उडान रद्द हुने गरेको छ। सोमबार मात्रै नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरलाइन्स, जजिरा एयरवेज, एयर अरेबिया र फ्लाइ दुबईका विभिन्न रुटका उडान प्रभावित भएका थिए। यसका कारण ३० भन्दा बढी आगमन तथा प्रस्थान उडानमा प्रत्यक्ष असर परेको विमानस्थल स्रोतले जनाएको छ।

यसैबीच कुवेतस्थित नेपाली दूतावासले कुवेतको हवाई क्षेत्र पूर्ण रूपमा खुलिसकेपछि मात्र नियमित उडान सुचारु हुने जनाएको छ। दूतावासले यात्रुहरूलाई अद्यावधिक जानकारीका लागि कुवेतको उड्डयन प्राधिकरणको आधिकारिक वेबसाइट हेर्न र सम्बन्धित वायुसेवा कम्पनी वा ट्राभल एजेन्सीसँग सम्पर्कमा रहन सुझाव दिएको छ।

पश्चिम एसियामा विकसित परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सजग रहन पनि आग्रह गरेको छ। साथै कुवेत सरकारले भिजिट भिसामा रहेका व्यक्तिको भिसा अवधि एक महिनाका लागि थप गरेको तथा सिभिल आइडीसम्बन्धी समयसीमा तीन महिनासम्म बढाएको जानकारी पनि दिएको छ। त्यसैले अनावश्यक रूपमा त्रसित नहुन र आवश्यक परे दूतावासबाट कन्सुलर सेवा लिन सकिने पनि बताइएको छ।

यसैबीच क्षेत्रीय तनाव कायमै रहेकाले केही देशको हवाई क्षेत्रसमेत प्रभावित भइरहेको छ। इरानले अघिल्लो साता छिमेकी मुलुकमाथि आक्रमण नगर्ने संकेत गरे पनि सोमबार टर्कीको हवाई क्षेत्रमा मिसाइल प्रवेश गराएको खबर सार्वजनिक भएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) को विदेश मन्त्रालयले उक्त घटनालाई टर्कीलाई लक्षित गरी गरिएको दोस्रो प्रयास भएको उल्लेख गर्दै यसलाई क्षेत्रीय सुरक्षाका लागि गम्भीर चुनौती भएको बताएको छ। साथै यस्तो गतिविधिले क्षेत्रीय तनाव अझ बढ्न सक्ने चेतावनी पनि दिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka