ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले जिल्ला अदालतमा माग गरेका छन् ।
यस विषयमा अहिले जिल्ला अदालत काठमाडौंमा बहस भइरहेको छ ।
ओली र लेखक पक्षका वकिलहरूले भने थुनामा राख्न आवश्यक नरहेको दाबी गर्दै जवाफी बहस प्रस्तुत गरिरहेका छन् ।
सरकारी वकिलले जरुरी पक्राउ पुर्जीको समर्थन तथा १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने मागसहित आजै जिल्ला अदालत काठमाडौंमा दुईवटा निवेदन दर्ता गरेका हुन् ।
गत २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले ओली र लेखकविरुद्ध फौजदारी मुद्दा अघि बढाउन सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गर्दै हिजो (शनिबार) बिहान उनीहरूलाई पक्राउ गरिएको हो ।
उक्त आन्दोलनका बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्रीका रूपमा कार्यरत थिए ।