समाचार

युएईमा जथाभाबी पोस्ट गर्ने नेपालीसहित ४५ जना पक्राउ


Logo
Prawash Tv
०१ चैत, २०८२
युएईमा जथाभाबी पोस्ट गर्ने नेपालीसहित ४५ जना पक्राउ

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा इरानी आक्रमणसँग सम्बन्धित तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक जना नेपालीसहित ४५ जना विदेशी नागरिक पक्राउ परेका छन्।

यूएईका अधिकारीहरूका अनुसार क्षेत्रीय सुरक्षा परिस्थितिसँग सम्बन्धित संवेदनशील सामग्री अनधिकृत रूपमा सार्वजनिक गरिएको र यसले मानिसहरूमा अनावश्यक चिन्ता तथा भ्रम फैलाउन सक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पछिल्लो समय इरानले खाडी क्षेत्रका विभिन्न देशहरूलाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको समाचार सार्वजनिक भइरहेका छन्। यूएई, कतार, कुवेत, बहराइन र साउदी अरेबियाका केही क्षेत्र यस्तो जोखिमको दायरामा परेको बताइएको छ।

यसै सन्दर्भमा यूएईका सरकारी निकायहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन चेतावनी दिँदै आएका छन्। आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार, तस्बिर वा भिडियो सार्वजनिक नगर्न तथा अफवाह फैलाउने गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरिएको छ।

यसैबीच कतारको राजधानी दोहास्थित नेपाली दूतावासले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल फर्किने तयारीमा रहेका नेपाली नागरिकलाई आवश्यक भिसा प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

दूतावासका अनुसार कतारमा वैध आवासीय अनुमति अर्थात् कतार आइडी भएका नेपालीहरूले साउदी अरेबियाको विमानस्थल प्रयोग गरी नेपाल यात्रा गर्न चाहेको अवस्थामा अनिवार्य रूपमा साउदी पर्यटक भिसा लिनुपर्ने व्यवस्था रहेको छ।

साउदी पर्यटक भिसाका लागि दोहास्थित ‘तासिर साउदी भिसा सेवा केन्द्र’मार्फत आवेदन दिन सकिने बताइएको छ। उक्त सेवा केन्द्र अल घराफास्थित एजदान मल राय्यानमा रहेको दूतावासले जानकारी दिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka