श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
काठमाडौं : वैदेशिक रोजगार विभागले विभाग आसपास सञ्चालनमा रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)लाई ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ।
‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता सन्देश तथा अन्य भ्रमपूर्ण सूचनाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई अन्योलमा पार्ने गरेको भन्दै विभागले त्यस्ता सामग्री तत्काल हटाउन भनेको हो।
विभागका अनुसार श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण प्रक्रिया वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयमार्फत मात्र सञ्चालन हुने व्यवस्था छ।
यस सम्बन्धमा विभागले आज सूचना जारी गर्दै भ्रम सिर्जना गर्ने खालका कुनै पनि लेखन, साइनबोर्ड वा प्रचारप्रसार तुरुन्त बन्द गर्न आग्रह गरेको छ।
उक्त निर्देशनको अवज्ञा गरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।