स्पेन आध्यात्मिक महोत्सव'बाट ५ करोड बढी संकलन
स्पेनको बार्सिलोनामा आयोजित ‘स्पेन आध्यात्मिक महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) स्पेनद्वारा ‘नेपाल घर’ तथा मन्दिर निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवबाट करिब ५ करोड ३० लाख रुपैयाँ (३ लाख ७ हजार युरो) संकलन भएको छ।
पाँच दिनसम्म सञ्चालन भएको महोत्सवमा नेपाली समुदायले उत्साहजनक सहभागिता जनाएका थिए। कुल संकलित रकममध्ये करिब १ लाख ३ हजार युरो नगद संकलन भएको छ भने बाँकी रकम दाताहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
महोत्सवमा स्पेनमा बसोबास गर्ने नेपाली व्यवसायीहरूले पनि उल्लेखनीय सहयोग गरेका छन्। बालकृष्ण तिवारीले १५,५५५ युरो र वीरबहादुर सार्कीले ७,७७७ युरो दान गरेका छन्। प्रारम्भिक लक्ष्य २ लाख युरो संकलन गर्ने भए पनि अपेक्षाभन्दा बढी सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस महोत्सवले आर्थिक संकलन मात्र होइन, नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, विदेशी भूमिमा नेपाली समुदायका लागि साझा सामाजिक, सांस्कृतिक तथा धार्मिक केन्द्र निर्माण गर्ने लक्ष्यलाई थप मजबुत बनाएको छ।
संकलित रकममा थप सहयोग जुटाएर करिब ५ लाख युरो लागतमा बार्सिलोनामा ‘नेपाल घर’ तथा मन्दिर निर्माण गर्ने योजना रहेको छ। महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था र नेपाली समुदायप्रति आयोजकले आभार व्यक्त गरेका छन्।