उद्धारका नाममा हुने गतिविधि रोक्न विभागको निर्देशन
वैदेशिक रोजगार विभागको निर्देशन : उद्धारका नाममा हुने गैरकानुनी गतिविधि बन्द गर्नुपर्ने
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम गन्तव्य मुलुकमा समस्यामा परेका कामदारको उद्धार गर्ने नाममा सञ्चालन गरिएका सबै गैरकानुनी गतिविधि बन्द गर्न निर्देशन दिएको छ।
विभागको राहत तथा उद्धार शाखाले वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको उद्धारको नाममा केही संघ–संस्थाहरूले कानुनविपरीत काम गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ अनुसार गैरसरकारी संस्थाहरूलाई त्यस्तो अधिकार दिइएको छैन।
विभागले जारी गरेको निर्देशनमा भनिएको छ,
“वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ अनुसार युद्ध, महामारी वा अन्य समस्यामा परेका नेपाली कामदारको उद्धारको जिम्मेवारी नेपाल सरकार र सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोग तथा राजदूतावासमा मात्र हुन्छ। केही गैरसरकारी संस्था वा व्यक्तिहरूले कानुनमा नभएको अधिकार प्रयोग गरी श्रमिक वा उनका परिवारलाई प्रभावमा पारेर उद्धारको भ्रम फैलाउने कार्य पूर्ण रूपमा गैरकानुनी हो।”
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीका अनुसार, केही संघ–संस्थाहरू उद्धारको नाममा आफ्नो आर्थिक स्वार्थ पूर्ति गर्दै नियमित काममा रहेका कामदारलाई श्रम गन्तव्य मुलुकबाट घर फर्काउन उक्साउने गरेका छन्, जसले समस्या उत्पन्न गरेको छ।
विभागले स्पष्ट पारेको छ कि अनुमति बिना वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि सेवा वा उद्धार कार्य कानुनको उल्लंघन हो। समस्यामा परेका श्रमिकले उद्धार आवश्यक परेमा वैदेशिक रोजगार विभागको आधिकारिक इमेल/ह्वाट्सएप नम्बर वा सम्बन्धित देशको नेपाली राजदूतावासमार्फत मात्र सम्पर्क गर्नुपर्नेछ।
विभागले चेतावनी दिएको छ,
“कानुनविपरीत उद्धार कार्य गर्ने कुनै पनि संघ–संस्था वा व्यक्ति फेला परेमा प्रचलित कानुन अनुसार कारबाही गरिनेछ। यस्तो प्रयासले श्रमिकलाई थप जोखिममा पार्न सक्छ र कानुनी जटिलता निम्त्याउन सक्छ।”