दक्षिण कोरियाका लागि काेटा ५३ सय, आवेदन १ लाख बढी
रोजगारीका लागि दक्षिण कोरिया जान चाहने नेपाली युवामध्ये १ लाख ३ हजारले आवेदन दिएका छन्।
वैदेशिक रोजगार विभागको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाका अनुसार कोरियाले सन् २०२५ का लागि उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रमा ५ हजार ३ सय कामदारको कोटा तोकेको थियो।
साउन २६ देखि ३१ गतेसम्मको आवेदन अवधि भित्र १ लाख ३ हजारले भाषा परीक्षाका लागि अनलाइन आवेदन दिएका हुन्। अहिले आवेदनहरूको प्रारम्भिक जाँच भइरहेको छ। भाषा परीक्षा एकै दिनमा अधिकतम पाँच सिफ्टमा सञ्चालन हुनेछ, र परीक्षा पास गर्ने मात्र अन्तिम रोजगारी छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन्।
नेपालमा हरेक वर्ष कोरियाको ईपीएस परीक्षा ठूलो आकर्षण पाउँछ। यसको मुख्य कारण कोरियामा तुलनात्मक रूपमा उच्च तलब, नियमनबद्ध श्रम बजार र श्रमिकमैत्री वातावरण हो। सीमित कोटामा अत्यधिक आवेदन पर्नु कोरियाली श्रम बजारप्रति नेपाली युवाको आकर्षण देखाउँछ।