रेमिट्यान्सको ८० प्रतिशत हिस्सा दैनिक उपभोग, शिक्षा र स्वास्थ्यमा खर्च हुने तथ्य सार्वजनिक
नेपालमा बेरोजगारी उच्च भएकाले वैदेशिक रोजगार युवाको प्रमुख विकल्प बनेको छ। देशको अर्थतन्त्र मुख्यतः विदेशमा श्रम गरिरहेका नेपालीले पठाउने रेमिट्यान्सले चलिरहेको छ। दशैं–तिहारजस्ता चाडपर्वका समयमा रेमिट्यान्सको मात्रा झन् बढ्ने गरेको रेमिट कम्पनीहरूले बताउँछन्।
अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीका अनुसार विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले दैनिक उपभोगसँगै चाडपर्वमा अर्थतन्त्रलाई चलायमान बनाउँछ। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार पछिल्ला ६ वर्षमा ७२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। आर्थिक वर्ष २०८२/८३ को साउन महिनामात्रै १ खर्ब ७७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ, जुन गत वर्षको तुलनामा २९ प्रतिशतले बढेको हो।
केमा खर्च हुन्छ रेमिट्यान्स ?
रेमिट्यान्स आउने घर : ७६ दशमलव ८ प्रतिशत –दैनिक उपभोगमा ५८ दशमलव ७८ प्रतिशत –शिक्षा र स्वास्थ्यमा २२ दशमलव ४८ प्रतिशत –ऋण तिर्न १० दशमलव शून्य ७ प्रतिशत –अन्य विविधि कार्यका लागि ८ प्रतिशत –बचत : ३ प्रतिशत
रेमिट्यान्स खर्चको संरचना यस्तो छ — दैनिक उपभोगमा ५८.७८ प्रतिशत, शिक्षा र स्वास्थ्यमा २२.४८ प्रतिशत, ऋण तिर्न १० प्रतिशत, विविध कार्यमा ८ प्रतिशत र बचतमा ३ प्रतिशत।
हाल रेमिट्यान्सले नेपालीको जीवनस्तर सुधार गरेको भए पनि त्यसको ठूलो हिस्सा उपभोगमै सीमित छ। सरकारको नीति र योजनाले रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा—जस्तै जलविद्युत्, पर्यटन र पूँजी बजारमा—लगानी गर्न सक्ने वातावरण बनाउँदा अर्थतन्त्र थप सबल बन्न सक्ने अर्थविद्हरूको सुझाव छ।