यान्बुमा महावाणिज्य दूतावास जेद्दाको घुम्ती
साउदी अरबको यान्बुमा नेपाली महावाणिज्य दूतावास, जेद्दाले पासपोर्ट नवीकरण, वितरण, श्रमिक सचेतना तथा समस्या समाधानसम्बन्धी एक दिने घुम्ती शिविर सम्पन्न गरेको छ।
यो कार्यक्रम नेपाली सेवा समिति, यान्बुको सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रममा दूतावासका प्रमुख पारस पण्डितले नेपाली श्रमिकहरूको समस्या, समाधानका उपाय तथा सचेतनामूलक जानकारी प्रस्तुत गरे।
समितिका कार्यवाहक अध्यक्ष धनबहादुर गुरुङले यस्ता शिविरहरू निरन्तर सञ्चालन गर्न आग्रह गर्दै दूतावासको टोली तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरे। सहभागीहरूले दूतावाससम्म पुग्न समय र खर्च दुवै लाग्ने भएकाले आफ्नै क्षेत्रमा सेवा प्राप्त गर्न पाउँदा सहज भएको प्रतिक्रिया जनाए।
शिविरमा यान्बु, रबिक, मदिना, अल वाज, दुबा, रेड सीलगायत क्षेत्रबाट आएका १६१ जनाले पासपोर्ट नवीकरणका लागि लाइभ इन्रोलमेन्ट आवेदन दिएका थिए। कार्यक्रममा नव नियुक्त महावाणिज्य दूत सुरेश पण्डितलाई पुष्पगुच्छा र दोसल्ला ओढाएर स्वागत गरिएको थियो।
शिविरमा महावाणिज्य दूतावास प्रमुख पारस पण्डित, दूत शुभास यादव, राजु बास्कोटा, सुरेश पण्डित, सुमन वाग्ले लगायतको उपस्थिति रहेको थियो।