फेमिस एनआइडीमा जोडियो
वैदेशिक रोजगार विभागद्वारा सञ्चालनमा रहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) अब राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआइडी) सँग जोडिएको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्। उनका अनुसार, फेमिस प्रणाली एनआइडीमा जोडिएपछि विगतमा देखिएका दुरुपयोगका घटना अब दोहोरिने छैनन्।
यससँगै एनआइडी प्रणालीमा वैदेशिक रोजगारसम्बन्धी सेवाका साथै अदालतका मुद्दा व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति, स्थानीय तहको पञ्जीकरण, राहत तथा विपद् व्यवस्थापन, अध्यागमन सेवा, नागरिकता, बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरण, र सामाजिक सुरक्षा सम्बन्धी सूचनाहरू पनि समेटिएका छन्।