वैदेशिक रोजगारीले सांस्कृतिक विचलन पनि बढायो : एमाले
सत्तारूढ दल नेकपा एमालेले वैदेशिक रोजगारीले मुलुकमा आर्थिक योगदानसँगै सांस्कृतिक विचलन पनि बढाएको निष्कर्ष प्रस्तुत गरेको छ ।
ललितपुरको गोदावारीमा शुक्रबार शुरु भएको दोस्रो विधान महाधिवेशनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई टेवा दिए पनि समाजमा सांस्कृतिक असन्तुलन सिर्जना भएको उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, “आन्तरिक तथा बाह्य आप्रवासन, बजार अर्थतन्त्रको विस्तार, प्रविधिको सहज पहुँच र बढ्दो चेतनाले समाजलाई गतिशील बनाएको छ । तर, यसले वर्गीय सम्बन्धमा नयाँ आयाम थपे पनि उत्पादन, स्वामित्व र आय–वितरणका आधारभूत प्रश्नहरू अझै खुला नै रहेका छन्।”
अध्यक्ष ओलीले भने समाजमा कुन–कुन क्षेत्रमा विचलन आएको हो भन्नेबारे विस्तृत व्याख्या गरेका छैनन् । तर विज्ञहरूका अनुसार वैदेशिक रोजगारीका कारण परिश्रम गर्ने संस्कार कमजोर हुनु, देखासिकीमा अनुत्पादक खर्च बढ्नु, बसाइँसराइ र पारिवारिक विखण्डनजस्ता समस्याहरू देखा परेका छन् । यस्ता विषय प्रतिवेदनमा भने समावेश गरिएको छैन ।
यस्तै, विदेशमा रहेका नेपाली र गैरआवासीय नेपालीहरूले निरन्तर उठाउँदै आएको मतदान अधिकारको मागबारे पनि प्रतिवेदन मौन छ । प्रतिवेदनमा ७६ प्रतिशत नेपाली परिवारले कुनै न कुनै रूपमा विप्रेषण प्राप्त गर्ने तथ्य राखिएको छ । यसले विगत २६ वर्षमा गरिबी दर ४२ प्रतिशतबाट २०.३ प्रतिशतमा झार्न सहयोग गरेको उल्लेख गरिएको छ ।
तर, विप्रेषणको वितरण असमान रहेको निष्कर्ष ओलीले प्रस्तुत गरेका छन् । प्रतिवेदनअनुसार धनी परिवारले गरिबभन्दा ३.३ गुणा बढी विप्रेषण प्राप्त गर्ने गरेको देखिन्छ, जसले वर्गीय असमानता अझै कायम रहेको देखाउँछ । साथै, सही जानकारीको अभाव, खर्च व्यवस्थापनमा चुनौती र सीपको कमीका कारण धेरै नेपाली अझै जोखिमपूर्ण काम गर्न बाध्य रहेको अवस्थाबारे पनि प्रतिवेदनले औंल्याएको छ ।