वैदेशिक रोजगार युवा व्यवसायी संघ गठन
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यसमिति सदस्य सुमनराज पाण्डेको अध्यक्षतामा वैदेशिक रोजगार युवा व्यवसायी संघ गठन गरिएको छ। पाण्डे सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका सञ्चालक हुन्। उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको भावना र मर्मअनुसार वैदेशिक रोजगार क्षेत्रमा नयाँ मूल्य, सोच र अभ्यास स्थापित गर्ने उद्देश्यले यो नयाँ संस्था गठन गरिएको बताए।
नवगठित ९ सदस्यीय तदर्थ कार्यसमितिमा —
प्रथम उपाध्यक्ष : अभिनयमान सिंह बस्नेत (हबिबी इन्टरनेशनल रिक्रुटमेन्ट प्रालि)
उपाध्यक्ष : देवीप्रसाद गिरी (हिमालयन भ्याली नेपाल प्रालि)
महासचिव : कृष्ण ढकाल (इगल म्यानपावर कन्सल्टेन्ट्स प्रालि)
सचिव : अदनान सम्मद (जेबिआर एसोसिएट प्रालि)
कोषाध्यक्ष : दीपा बुढाथोकी (क्विक एचआर म्यानेजमेन्ट प्रालि)
रसदस्यहरू : सरोज हुसेन (प्याराडाइज ह्युमन रिसोर्स प्रालि), ध्रुव जिसी (सिजी इन्टरनेशनल ग्रुप प्रालि) र फडिन्द्रकुमार केसी ‘प्रशान्त’ (ड्रिमल्यान्ड रिक्रुटमेन्ट प्रालि) रहेका छन्।
संघले वैदेशिक रोजगार क्षेत्रमा सक्रिय नयाँ पुस्ताका व्यवसायीहरूलाई एकताबद्ध गर्दै “युवाको नेतृत्वमा गर्व गर्न लायक आधुनिक व्यवसाय” निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।
संघका अनुसार वैदेशिक रोजगार व्यवसाय नेपालको अर्थतन्त्र, रोजगारी र सामाजिक गतिशीलताको प्रमुख आधार भएकाले यस क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र प्रविधिको प्रयोग अनिवार्य भएको महसुस गरिएको छ। यसै कारण संघले युवाहरूमाझ एकता, जिम्मेवारी, नैतिकता र व्यावसायिक इमानदारीको संस्कृति विकास गर्ने उद्देश्य लिएको छ।
संघले व्यवसायका सम्पूर्ण प्रक्रिया र अभ्यासलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउँदै युवामाझ ‘एजेन्ट होइन, उद्यमी बन्ने संस्कार’ स्थापित गर्ने प्रतिबद्धता जनाएको छ। साथै, अग्रजहरूको अनुभव र नयाँ पुस्ताको नवप्रवर्तनलाई संयोजन गर्दै नीतिगत तहमा युवाको सशक्त सहभागिता सुनिश्चित गर्ने योजना रहेको जनाएको छ।
“युवाको नेतृत्वमा पारदर्शी, प्रतिस्पर्धी र प्रविधिमैत्री वैदेशिक रोजगार व्यवसाय” भन्ने मूल उद्देश्यका साथ अघि बढेको संघले युवालाई संगठित, सक्षम र जिम्मेवार उद्यमीका रूपमा विकास गर्दै नेपाललाई विश्वसनीय श्रमिक आपूर्तिकर्ता राष्ट्रका रूपमा सुदृढ बनाउने दीर्घकालीन लक्ष्य राखेको छ। संघको विश्वास छ— युवाको सोच, अग्रजको अनुभव र सबै व्यवसायीको एकताबाट मात्र विश्वसनीय र परिणाममुखी वैदेशिक रोजगार क्षेत्र सम्भव छ।