मेरो संलग्नता र चासो पनि छैन’
नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै विषयमा आफ्नो संलग्नता वा चासो नभएको स्पष्ट पारेका छन् ।
मलेसियाको विदेश मन्त्रालयले नेपाली म्यानपावर कम्पनी छनोटका लागि पठाएको १० बुँदे मापदण्डको विरोधमा वैदेशिक रोजगार व्यवसायीहरूले मंगलबार सामूहिक प्रतिबद्धता जनाएका थिए । यसै प्रसङ्गमा संघले पठाएको छलफलका निम्तो पत्रको जवाफमा अध्यक्ष खड्काले आफू उक्त छलफलमा सहभागी नहुने बताएका हुन् ।
मध्यान्ह दैनिकलाई प्राप्त पत्रमा उनले लेखेका छन्,
“नेपाल स्वास्थ्य व्यवसायी महासंघ र यसको अध्यक्षको नाताले म विगत २० वर्षदेखि स्वास्थ्य व्यवसाय र स्वास्थ्य परीक्षणसम्बन्धी क्षेत्रमा क्रियाशील छु । म कुनै पनि म्यानपावर व्यवसायमा संलग्न छैन । त्यसैले स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै विषयमा मेरो सरोकार वा चासो छैन । यस कारण महासंघ उक्त छलफलमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँछु ।”
तर, वैदेशिक रोजगार व्यवसायीका विभिन्न संघ–संस्थाहरूले विगतमा सीमित व्यवसायीलाई मात्रै सहभागी गराएर मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि बायोमेट्रिक प्रणाली लागू गरिएको र हाल मलेसियाबाट आएको १० बुँदे मापदण्डमा अध्यक्ष खड्काको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन् ।
संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले समेत खड्कालाई चेतावनी दिँदै, “यदि सिन्डिकेटमा सहभागी हुने योजनाबाट पछि नहटिए शारीरिक आक्रमण वा ज्यानसम्मको जोखिमका लागि तयार रहनु पर्नेछ,” भन्ने चुनौती दिएका छन् । केही व्यवसायीले त सिन्डिकेटका नाममा करोडौं रुपैयाँ गैरकानुनी रूपमा मलेसिया पठाइएको दाबीसमेत गरेका छन् ।
यसबारे अध्यक्ष खड्काले भने, “केही अनलाइन मिडियाले कपोकल्पित समाचारमार्फत मेरो चरित्र हत्या गर्न खोजेको छ । मलेसियाको मापदण्डलाई लिएर भ्रामक प्रचार, उक्साहट र बदनाम गर्ने प्रयास भएकोले म यसको कानुनी उपचारमा जानेछु,” भन्दै आपत्ति जनाएका छन् ।
उनले संघलाई पठाएको पत्रमा मलेसियाको मापदण्डसम्बन्धी विषय आफ्नो चासो वा संलग्नताको क्षेत्र नभएको दोहोर्याउँदै, मलेसिया सिन्डिकेटका विषयमा छलफल नगर्ने स्पष्ट पारेका छन् । तथापि, उनले अन्य विषयका सन्दर्भमा संघसँग सहकार्य र संवाद जारी रहने प्रतिबद्धता जनाएका छन् ।
उनको भनाइमा,
“महासंघ र संघबीच विगत २० वर्षदेखि सहकार्य रहँदै आएको छ । संघले आह्वान गरेका सामाजिक गतिविधिहरूमा हामीले सधैं हातेमालो गरेका छौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ जस्तो जिम्मेवार संस्थाले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने विश्वास लिएको छु । विगतका कार्यसमितिहरूसँग जस्तै हालको कार्यसमितिसँग पनि सहकार्यको भावना निरन्तर रहनेछ ।