समाचार

सिन्डिकेटको पक्षमा कुनै निर्णय नभएको र नहुने श्रम मन्त्रालयको स्पष्टोक्ति


Logo
Prawash Tv
१२ जेठ, २०८२
सिन्डिकेटको पक्षमा कुनै निर्णय नभएको र नहुने श्रम मन्त्रालयको स्पष्टोक्ति

  • काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निश्चित म्यानपावर कम्पनीलाई फाइदा पुग्ने गरी कुनैपनि मुलुकमा नेपाली कामदार पठाउने कुनै निर्णय नभएको जनाएको छ । हाल मलेसिया, इजरायल, जापान, दक्षिण कोरियालगायत मुलुकमा निश्चित म्यानपावर कम्पनीहरूको समूह (सिन्डिकेट)लाई लाभ पुर्‍याउने षडयन्त्र भएको भन्दै दैनिकरूपमा समाचार सार्वजनिक भइरहेका छन् ।

    त्यसमध्ये मलेसियाको कामदार भर्ना प्रक्रियामा सिन्डिकेटको चर्चा नै बढी छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित वैदेशिक रोजगार व्यवसायीहरूले असन्तुष्टि जनाउँदै खबरदारी गरिरहेका छन् ।

    मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अनावश्यक अफवाह फैलाउने सञ्चारमाध्यमको अनुगमन गरी कारबाही गर्न प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराएको छ । मन्त्रालयले भ्रामक सूचना एवं समाचार प्रसारण गर्ने÷गराउने सञ्चारमाध्यमलाई प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाहीका लागि प्रेस काउन्सिललाई लेखि पठाइएको विज्ञप्तिमा जनाएको छ ।

    विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘मलेसिया, इजरायल, जापान, कोरियालगायत मुलुकमा नेपाली कामदार पठाउने निश्चित म्यानपावर व्यवसायीहरुलाई फाइदा पुग्नेगरी सिन्डिकेट गर्न लागिएको भनि विभिन्न सञ्चारमाध्यमबाट अफवाह फैलाइएकाले भ्रमपूर्ण एवं आधारहीन विषयको पछाडि नलाग्नुहुन सम्बद्ध सबै सरोकार पक्षलाई अनुरोध छ ।’

    कुनै निश्चित व्यवसायीलाई लाभ हुने गरी हाल कुनै पनि निर्णय नभएको र भविष्यमा समेत त्यस प्रकारको कुनै  निर्णय नहुने भन्दै मन्त्रालयले अफवाह र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने व्यक्ति/समूहको पहिचान भएमा मन्त्रालयलाई आधिकारिक माध्यमबाट तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरेको छ ।

    नेपाली श्रमिकको हक र अधिकार सुनिश्चित गर्ने र वैदेशिक रोजगारलाई सरल, सुलभ मर्यादित र सुरक्षित बनाउने सन्दर्भमा नीतिगत सुधार गर्दै आएको भन्दै मन्त्रालयले अनावश्यक अफवाहपूर्ण सूचना तथा समाचार प्रकाशन प्रसारण गर्ने व्यक्ति, समूहमाथि कारबाही गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराएको छ । मलेसिया रोजगारको सिन्डिकेट सम्बन्धमा आइतबार मन्त्रालयले जारी गरेको विज्ञप्ति दोस्रो हो ।

    यसअघि गत फागुन तेस्रो हप्ता पनि विज्ञप्तिमार्फत मन्त्रालयले मलेसिया कामदार पठाउन कुनै निश्चित व्यवसायीलाई लाभ पुग्ने गरी हाल कुनैपनि निर्णय नभएको र भविष्यमा पनि नहुने बताएको  थियो । संघ तथा अन्य व्यवसायीले सिन्डिकेटको विरोध गर्दै पटक–पटक मन्त्रालयको प्रतिबद्वता मागेका छन् ।

    श्रममन्त्री शरतसिंह भण्डारीले आफू र मन्त्रालयलाई विश्वास गर्न व्यवसायीहरूलाई आग्रह गर्दै मलेसियासँगको श्रम समझदारी परिवर्तन नभएसम्म मलेसियामा कामदार पठाउन कुनै निश्चित व्यवसायीलाई लाभ हुने गरी कुनै निर्णय नहुने बताएका छन् ।

    तर संघ नेतृत्व र व्यवसायी सरकारी भनाइमा ढुक्क देखिँदैनन् । यता संघले सिन्डिकेटमा सहभागी नहुने प्रतिबद्धतापत्र नपठाएको अवस्थामा कम्पनीको नाम सार्वजनिक गर्ने व्यहोराको पत्र आइतबार व्यवसायीहरूलाई पठाएर सिन्डिकेटविरुद्धको दबाब र खबरदारीमा ऐक्यबद्धता जनाउन आग्रह गरिरहेको छ।

  • साभार मध्यान्न दैनिक बाट



Baideshik rojgar


सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka