मलेसियाले तोकेको नयाँ मापदण्डबारे प्रधानमन्त्री कार्कीको चासो
मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो देखाएकी छन्।
मलेसियाको नयाँ मापदण्डले पर्न सक्ने सम्भावित प्रभावहरूको अध्ययन गरी आवश्यक पहल र गृहकार्य गर्न प्रधानमन्त्री कार्कीले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई कार्यकक्षमा बोलाएर यस विषयमा विस्तृत जानकारी लिएकी थिइन्।
सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको बताउँदै, यस विषयलाई कूटनीतिक रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री कार्कीले यस विषयमा परराष्ट्र, अर्थ तथा श्रम मन्त्रालयबीच आपसी समन्वय गरी उचित कदम चाल्न पनि निर्देशन दिएकी छन्।
मलेसिया नेपाली कामदारका लागि प्रमुख वैदेशिक रोजगारी गन्तव्य मुलुकमध्ये एक हो। हाल नेपालमा रहेका करिब १,२०० वैदेशिक रोजगार व्यवसायीमध्ये करिब ९०० कम्पनी मलेसियामुखी रोजगारमा निर्भर छन्।
व्यवसायीहरूको भनाइअनुसार, मलेसियाको नयाँ मापदण्ड कार्यान्वयन भएमा नेपालका करिब एक दर्जन ठूला कम्पनीहरू मात्र त्यहाँ कामदार पठाउन योग्य रहनेछन्।