कोरिया पठाउन ढिलाइ गरेको भन्दै इपिएस कोरिया शाखा घेराउ
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा पास गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन सुरु गरेका छन्।
भाषा र सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष हुन लाग्दा पनि रोजगारका लागि दक्षिण कोरिया जान नपाएका युवाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखा घेराउ गरेका हुन्।
सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकामध्ये १७ हजार ३० जना भाषा परीक्षामा पास भएका थिए। तीमध्ये धेरैजना अहिले सम्म रोजगार करारमा पुग्न नसकेका कारण दक्षिण कोरिया जान पाएका छैनन्।
आन्दोलनरत युवाहरूले नयाँ विज्ञापन र परीक्षा खोल्नु अघि पहिले नै पास भएका कामदारलाई प्राथमिकताका साथ पठाउन माग गरेका छन्। सन् २००८ देखि दक्षिण कोरियाले इपिएस प्रणालीमार्फत अदक्ष नेपाली कामदार लैजान थालेको हो। हाल कोरियामा करिब एक लाख नेपाली कामदार कार्यरत छन्।