समाचार

धरौटी तथा बैंक ग्यारेन्टीको प्रमाण पठाउन विभागको आग्रह


Logo
Prawash Tv
१७ कात्तिक, २०८२
धरौटी तथा बैंक ग्यारेन्टीको प्रमाण पठाउन विभागको आग्रह

वैदेशिक रोजगार विभागले भदौ २४ गते भएको आगजनीमा जलेर नष्ट भएका धरौटी र बैंक ग्यारेन्टीसम्बन्धी अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाणहरू पठाउन वैदेशिक रोजगार व्यवसायीहरू र सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ।

विभागले वैदेशिक रोजगारसम्बन्धी व्यवसाय गर्ने म्यानपावर कम्पनीहरू, तिनका शाखा, अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्था, घरेलु कामदार पठाउने संस्था तथा न्यायिक धरौटीका प्रयोजनका लागि धरौटी रकम संकलन गर्दै आएको छ। यी रकमहरू विभागले वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसार मुद्दती खातामा एकमुष्ट रूपमा जम्मा गर्ने गरेको छ।

तर भदौ २४ गतेको आगजनीमा विभागका अभिलेख जलेर नष्ट भएपछि हरेक म्यानपावर कम्पनीको पृथक धरौटी विवरण उपलब्ध नभएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक प्रमाण पेस गर्न अनुरोध गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले असोज २७ गते तयार पारेको मुचुल्काको आधारमा समेत नष्ट भएका अभिलेखहरू अद्यावधिक गर्न विभागले वैदेशिक रोजगार व्यवसायी र अभिमुखीकरण संस्थाहरूलाई सम्बन्धित कागजात र प्रमाण उपलब्ध गराउन आग्रह गरेको छ।

यसअन्तर्गत सम्बन्धित कम्पनी वा संस्थाले निम्न प्रमाणहरू पेश गर्नुपर्नेछः

  • धरौटी दाखिलाको भौचरको प्रमाणित प्रतिलिपि,

  • बैंक ग्यारेन्टीको प्रमाणित प्रतिलिपि,

  • धरौटीको यथार्थ विवरणसहितको स्वघोषणापत्र,

  • आवश्यक परे बैंक स्टेटमेन्टको प्रतिलिपि,

  • व्यक्तिगत धरौटीका हकमा भौचर, निवेदन, धरौटी प्रयोजन खुलेको पत्र र नागरिकताको प्रतिलिपि।

विभागका अनुसार वार्षिक तीन हजार कामदारसम्म पठाउने कम्पनीले ५० लाख रुपैयाँ नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी, पाँच हजार जनासम्म पठाउने कम्पनीले एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैंक ग्यारेन्टी, र पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीले दुई करोड नगद धरौटी र चार करोड रुपैयाँको बैंक ग्यारेन्टी राखेका छन्।

त्यस्तै, अभिमुखीकरण तालिम प्रदायक संस्थाले पाँच लाख रुपैयाँ धरौटी र घरेलु कामदार पठाउने म्यानपावर कम्पनीले थप २५ लाख रुपैयाँ धरौटी राखेका छन्। विभागले धरौटी अद्यावधिकका क्रममा व्यवसायी स्वयं र सम्बन्धित बैंक दुवैबाट क्रस–भेरिफिकेसन गरेर अभिलेख मिलान गर्ने जनाएको छ।

आगजनीका कारण विभागका अनुगमन, लेखा, योजना–प्रशासन, राहत–उद्धार र अन्तिम स्वीकृति शाखा जलेका थिए। विभागका अनुसार म्यानपावर कम्पनीका एक हजार सात सयभन्दा बढी फाइलहरू नष्ट भएका छन्। ती फाइलहरूसँगै धरौटी अभिलेख, उजुरी र मुद्दासम्बन्धी विवरण पनि जलेका छन्।

त्यस्तै, कर्मचारी सरुवा–बढुवा सम्बन्धी फाइलहरू पनि जलेका थिए। विभागले कर्मचारीलाई आफ्ना कागजातहरूको प्रतिलिपि बुझाएर प्रशासनिक अभिलेख पुनः सिर्जना गरेको छ। विभागको अनलाइन प्रणाली भने सुरक्षित रहेको जनाएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka