संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सरकारले मापदण्ड तोकेर सिन्डिकेट व्यवस्था कायम गरेको आरोप लगाउँदै त्यसको विरोधमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ।
संघका अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठकले सिन्डिकेटविरुद्ध प्रतिबद्धता जनाउन अस्वीकार गर्ने वैदेशिक रोजगार कम्पनीहरूको नाम सार्वजनिक गर्ने र नेपालस्थित मलेसियन दूतावासमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव महेशकुमार बस्नेतले जानकारी दिए। यसका लागि कार्यसमिति पदाधिकारी तथा सदस्यहरूबीच जिम्मेवारी बाँडफाँट गरिएको छ।
विभिन्न निकाय तथा संस्थासँग छलफल र समन्वय गर्न अध्यक्ष गुरुङको संयोजकत्वमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, महासचिव बस्नेत र दुई पूर्वअध्यक्षसहित पाँच सदस्यीय वार्ता तथा समन्वय समिति गठन गरिएको छ।
त्यस्तै, सिन्डिकेट समर्थक व्यक्ति, संस्था र निकायविरुद्ध संघर्ष सञ्चालन गर्न द्वितीय उपाध्यक्ष देवकुमार खोखालीको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ।
सिन्डिकेटविरुद्ध प्रतिबद्धता नजनाएका कम्पनीहरूबाट प्रतिबद्धता पत्र संकलन गरी प्राप्त विवरण सार्वजनिक गर्ने जिम्मेवारी संघका सदस्य भरत सापकोटालाई दिइएको छ।
वार्ताका लागि आवश्यक चिठीपत्र तयार गर्ने जिम्मा तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेललाई तोकिएको छ। साथै, संघले आवश्यकता अनुसार नेपाल मेडिकल संघ र नेपाल स्वास्थ्य व्यवसायी महासंघसँग पनि छलफल गर्ने निर्णय गरेको छ।
संघले समस्याको समाधान नभएमा नेपालस्थित मलेसियन दूतावासमा आम व्यवसायीहरूको सहभागितासहित शान्तिपूर्ण आन्दोलन गरी ज्ञापनपत्र बुझाउने, व्यवसायी भेला आयोजना गर्ने, वैदेशिक रोजगार विभाग घेराउ गर्दै ध्यानाकर्षण गराउने तथा केही दिनका लागि उडान रोक्न व्यवसायीहरूलाई आह्वान गर्ने लगायतका कार्यक्रमहरू गर्ने निर्णय गरेको महासचिव बस्नेतले जानकारी दिएका छन्।